कांग्रेस सुनसरी सभापतिमा संस्थापन इतरका भण्डारी निर्वाचित
इटहरीः नेपाली कांग्रेस सुनसरी सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन्। सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी विजयी भएका हुन्।
सुरुआतदेखि नै अग्रता कायम गरेका उनले संस्थापन प्यानलका उम्मेदवार सञ्जयकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। दुवै उम्मेदवारको निर्वाचन क्षेत्र र पालिका पनि समान भएका कारण चुनाव निकै प्रतिस्पर्धात्मक देखिएको थियो।
कुल २६२६ मतमध्ये श्रेष्ठले १३०९ मत पाउँदा भण्डारीको पक्षमा १४२२ मत खसेको थियो। ११३ मतान्तरका साथ विजयी भएका भण्डारी दुई कार्यकाल सुनसरी सचिव चलाएका हुन्।
भण्डारीसहित उपसभापतिमा इतर पक्षकै नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन्। सचिवमा संस्थापन प्यानलका मनोजकुमार शाह र इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका हुन्।
सहसचिवमा भने संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भएका छन्। अपाङ्गतर्फ महाधिवेशन प्रतिनिधिमा उपेन्द्रप्रसाद मेहेता र देवेन्द्र पौडेल विजयी भएका हुन्।
यससँगै राजीव कोइरालापछि सुनसरीमा इतर पक्ष स्थापित भएको छ।
मंसिर १३, २०७८ सोमबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।