प्रायः सबै पदमा निर्वाचन हुने देखियो: केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बा
चितवनः नेकपा एमालेको जारी महाधिवेशनमा प्राय: सबै पदमा उम्मेदवार सङ्ख्या आवश्यकभन्दा बढी देखिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आवश्यकभन्दा बढी उम्मेदवारी परेको बताएका हुन्।
बिहान ८ बजेबाट सुरु भएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया हालसालै सकिएको छ। अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ।
यसका अलावा अरू पदमा पनि उम्मेदवारी सङ्ख्या बढी रहेको हुँदा लगभग सबै पदमा निर्वाचन हुने देखिएको सुब्बाले बताए।
यस्तै निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार अब मतदान प्रक्रिया पनि केही पर धकेलिन सक्छ। 'बेलुका ९ बजेको हिसाव थियो। सबै पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेको हुँदा भोटिङ मेसिनमा नाम राख्नै न्युनतम १२-१४ घण्टा लाग्छ। मतदान प्रक्रिया ९ बजेभन्दा पर धकेलिन सक्छ', उनले भने।
मंसिर १३, २०७८ सोमबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।