एमाले महाधिवेशन: बिहान ८ बजेदेखि ९:३० सम्म उम्मेदवारी दर्ता गरिने
चितवनः नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत आज निर्वाचनको कार्यतालिका रहेको छ। आज बिहान ८ बजेदेखि ९:२० सम्म उम्मेदवारहरूलाई दरखास्त फारम वितरण गरिने भएको छ।
यसअघि आइतबार नै निर्वाचन प्रक्रिया सक्ने कार्यतालिका रहेको भए पनि पार्टीको केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। आज बिहान ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ भने बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। यस्तै निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ।
बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ। मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ।
यसअघि बन्दसत्रमा एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिइएको थियो। ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए।
उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। तर केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
मंसिर १३, २०७८ सोमबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।