मध्यरातसम्मको बैठकले गर्न सकेन सहमति, नेतृत्व अब निर्वाचनबाटै 

मध्यरातसम्मको बैठकले  गर्न सकेन सहमति, नेतृत्व अब निर्वाचनबाटै 
उम्मेदवारी फारम भर्दै डा रावल

चितवन : सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै आइतबार बिहानदेखि मध्यरातसम्म भएको छलफलमा सहमति नभएपछि एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चुनावी प्रक्रियाबाटै छानिने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल समूह बनाएर सर्वसम्मत गराउने प्रयास गरेका थिए। तर भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेकाले अन्ततः बेलुका साढे ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु भयो।

अध्यक्षमा उम्मेदवारी दिन केपी ओली र भीम रावल दुवै मनोनयन स्थलमा छन्। भीम रावलले अध्यक्ष मण्डलको बैठकमा आफूले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएको र सोही अनुसार मनोनयन पत्रको दरखास्त भरेको बताए।

झपट रावलहरू पनि सँगै छन्। अध्यक्ष मण्डलको बैठकबाट निस्कँदा ओली र महासचिव विष्णु पौडेलले केही नबोली मनोनयन स्थानतिर गएका थिए।

अध्यक्ष बाहेक अन्य पदमा उम्मेदवारी पर्ने-नपर्ने पक्का छैन। वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने बताएका थिए। महासचिव, उपमहासचिव र सचिव पदमा को कसले उम्मेदवारी दिने पक्का भएको छैन। उम्मेदवारी मनोनयनको प्रक्रिया चलिरहेको छ।

मंसिर १३, २०७८ सोमबार ००:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।