रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिव प्रस्ताव, दुवैले गरे अस्वीकार
चितवन : अध्यक्ष मण्डलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षहरूमा विष्णु पौडेल,भीम रावल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन्।
स्रोतका अनुसार महासचिवमा शङ्कर पोखरेलको नाम छ भने उप महासचिवमा घनश्याम भुसाल र प्रदीप ज्ञवालीको नाम प्रस्ताव गरेका छन्।
तर बैठकमा रावल र भुसालले दुवै पद अस्वीकार गर्दै निर्वाचनको पक्षमा आफ्ना धारणा राखेका छन्। बैठकमा जसले जुन पदमा असहमति जनाउने हो सोही पदमा मात्र निर्वाचन गर्ने ओलीले अध्यक्ष मण्डलको बैठकमा प्रस्ताव राखेका छन्। तर लोकतान्त्रिक मान्यता अनुसार निर्वाचनमा विधान अनुसार योग्य जो कसैले पनि उम्मेदवारी दिन पाउनुपर्ने माग रावल पक्षको छ।
रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। उता नेम्वाङ पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवार हुने पक्षमा छन्। नेम्वाङले वरिष्ठमा पोखरेललाई स्विकार नगर्ने बताइसकेका छन्।
मंसिर १२, २०७८ आइतबार २३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।