काभ्रे र सिन्धुपाल्चोकको गल्ती दोहोर्‍याएन ललितपुरले, सभापतिमा जितेन्द्र

काभ्रे र सिन्धुपाल्चोकको गल्ती दोहोर्‍याएन ललितपुरले, सभापतिमा जितेन्द्र

काठमाडौँ : आपराधिक पृष्ठभूमिको नेतृत्वबाट ललितपुरका काँग्रेस नेता-कार्यकर्ता जोगिएका छन्। उनीहरूले आपराधिक पृष्ठभूमिका उम्मेदवारलाई पराजित मात्र गरेनन् दोस्रो चरणमा उनले समर्थन गरेका उम्मेदवारलाई पनि जिल्ला सभापतिमा पराजित गराए।

ती हुन मीनकृष्ण महर्जन। देखिँदा उनी राजनीति र खेल दुबैतिर सक्रिय देखिन्छन्। तर उनको पृष्ठभूमि भने सङ्लो छैन। ललितपुर जिल्लाको ढुंगाखानी देखि सडक ठेक्कासम्ममा उनको रजगज चल्ने गरेको छ।

सडक ठेक्काको कमिसनकै विवादमा उनीमाथि सात वर्ष अगाडि ललितपुरमा अर्का आपराधिक पृष्ठभूमिका रमेश बाहुनले गोली हान्दा धन्न ज्यान जोगिएको थियो।

काँग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकारसँगै महर्जन पनि उम्मेदवार बनेका थिए। शनिवार भएको मतदानमा उनी तेस्रो भए।

पहिलो र दोस्रो भएका उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुन मतदान भयो। महर्जनले चित्रकारलाई समर्थन गरेका थिए। तर उनी पनि पराजित भए। जिल्ला अध्यक्ष भए जितेन्द्र।

जितेन्द्रले ६ सय ६५ मत पाउँदा चित्रकारले ६ सय ५३ मत पाएका थिए। श्रेष्ठ पार्टी संस्थापनका उम्मेदवार थिए।

ललितपुरले प्रयोग गरेको विवेक सिन्धुपाल्चोक र काभ्रेका काँग्रेस नेता र कार्यकर्ताले प्रयोग गर्न सकेनन्। सिन्धुपाल्चोकमा आपराधिक पृष्ठभूमिका सगुन श्रेष्ठ एक पालिकाको सभापतिमा सर्वसम्मत भए भने काभ्रेको एक पालिकामा अर्का दावा लामा। गणेश लामा काभ्रेबाट सहजै महाधिवेशन प्रतिनिधि भएका थिए।

मंसिर १२, २०७८ आइतबार २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।