रावल-घनश्यामविनाको पदाधिकारी सूचीको विपक्षमा सक्रिय भयो तेस्रो समूह
चितवन : सात बजेबाट बन्द शत्र सुरु गर्ने भनिए पनि एमाले अध्यक्ष केपी ओली होटेलबाट ननिस्किएपछि बन्द शत्र सुरु हुन सकेन। ओली समूहका केही नेताले भीम रावल, घनश्याम भुसाल र रामबहादुर थापा बादललाई पदाधिकारीमा समेटेर मात्र अगाडि बढ्न दबाब दिएपछि ओली होटेलबाट निस्किएका छैनन्।
पार्टीको एकताका पक्षमा रहेका नेताहरूले ईश्वर पोखरेल लगायतकाहरुसँग बसेर बनाइएको केन्द्रीय कमिटीको सूचीमा चित्त बुझाएका छैनन्। सो सूची अनुसार रावल र भुसाललाई पेलेरै जाने नीति लिइए पनि माधव नेपालहरू समेत बाहिरिएको अवस्थामा पार्टीलाई थप क्षति हुन दिन नहुने भन्दै केही नेता सक्रिय भएका हुन्।
अन्तिम समयमा सक्रिय भएको दबाब समूहले सबैसँग छलफल गरेर मात्र बन्द शत्रमा सहमतिको सूची पढ्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। उनीहरूको आग्रह अनुसार ओली होटेलबाट निस्किएका छैनन्।
एमाले नेता शेरबहादुर तामाङले क्लस्टर अनुसार नाम मिलाउने काम भइरहेको जानकारी दिए। उनले निर्वाचनमा रावल गए उनी एक्लै पर्ने भन्दै बन्द शत्रमा प्रस्तावित नाममा कसैले अहसमती जनाए ध्वनि मतको आधारमा टुङ्ग्याउने बताएका थिए।
दोस्रो तहका केन्द्रीय सदस्यहरू विशाल भट्टराई, रचना खड्का लगायतकाहरु यसमा सक्रिय भएका छन्। तेस्रो समूह विधान अधिवेशन सकिएपछि पनि
केन्द्रीय सदस्यदेखि पदाधिकारी बढाउने लबिङमा थिए। नेताहरूले सहमतिको कुनै न कुनै उपाय निकाल्ने आसमा बसेको तर अन्तमा सहमति नगरी एकतर्फी नाम घोषणाको तयारी गरेपछि पार्टीलाई थप क्षति हुनबाट जोगाउन अन्तिम समयमा सक्रिय हुन बाध्य भएको एक नेताले उकेरालाई बताए।
मंसिर १२, २०७८ आइतबार १९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।