कांग्रेस दैलेखको नेतृत्वमा संस्थापन इतरका रेग्मी, सुर्खेतको परिणाम सोमबार
सुर्खेत : नेपाली कांग्रेस दैलेखको जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्। रेग्मीले संस्थापन पक्षका घनश्याम भण्डारीलाई ३७ मतले पराजित गरेका हुन्।
रेग्मी ७९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रत्याशी भण्डारीले ७५४ मत प्राप्त गरेका छन्। रेग्मी रामचन्द्र पौडेल पक्षका उम्मेदवार थिए।
यस्तै सुर्खेतमा पनि सभापति बाहेक अन्य पदहरूमा निर्वाचन भएको छ। रामचन्द्र पौडेल पक्षबाट महाधिवेशन प्रतिनिधिमा चुनाव हारेपछि सभापतिका लागि उम्मेदवार नै भएनन्। त्यस कारण पनि संस्थापन पक्षका खड्ग पोखरेल निर्विरोध निर्वाचित भए।
उपसभापतिसहितका बाँकी पदहरूमा भने निर्वाचन हुने भएको छ। संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह-सचिवमा हरि विष्ट र प्रकाश डिसी चुनावी मैदानमा छन्।
रामचन्द्र पौडेल पक्षबाट उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्त छन्।
साढे ५ बजेसम्म मतदानको समय रहेको र १५ सय बढी मत खसिसकेको जिल्ला निर्वाचन अधिकृत मदन रेग्मीले जानकारी दिए।
उनका अनुसार करिब तीन सय मत खस्न बाँकी रहेकोले रात भरी गणना गरेर भोलि सोमबार नतिजा सार्वजनिक गरिनेछ।
मंसिर १२, २०७८ आइतबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।