'लिस्टसिस्ट थाहा छैन, चुनाव हुनुपर्छ, एक मत आए पनि उठ्छु' : रावल
चितवन : महाधिवेशन स्थलमा भीम रावल वरिष्ठ उपाध्यक्षमा सहमत भएको हल्ला चलेपछि रावलले ट्विट गर्दै निर्वाचन प्रक्रिया सुरु नभएकोमा आपत्ति जनाएका छन्।
उनले भनेका छन्' एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ।'
उनको धारणबारे बुझ्न उनी निकट एक नेतासँग सम्पर्क गर्दा उनले'एक मत आए पनि अध्यक्षमा उम्मेदवारी दिने' अडानमा रावल कायमै रहेको दाबी गरे।
'लिस्टसिस्ट थाहा छैन, चुनाव हुनुपर्छ,' रावलको भनाई उद्धृत गर्दै ती नेताले भने' । म अध्यक्षमा उठ्छु। एक मत आए लिन लड्ने हिजोको अडानमा म कायम छु।'
रावललाई वरिष्ठ उपाध्यक्ष दिएर भए पनि मनाउनुपर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहमा छलफल भएको थियो। सोही छलफल महाधिवेशन प्रतिनिधिमाझ पुगेको थियो।
उता होटेलमा जारी ओली समूहको लिस्ट बनाउने काम जारी छ। केन्द्रीय सदस्यहरूको सूची बनाएर प्रिन्ट गरेर गएका नेता विष्णु पौडेल त्यसपछि फर्किएका छैनन्।
केन्द्रीय सदस्यको सूची फाइनल गरेपछि पार्टी पदाधिकारीको सूची फाइनल गरेर बन्द शत्रमा आएर ओलीले पढेर सुनाउने र कसैले विरोध गरेमा ध्वनि मतमार्फत निर्णय गराउने तयारी भइरहेको छ। निर्वाचन बुथ बनाउने बाहेक निर्वाचनको अन्य प्रक्रिया अगाडि बढ्न सकेको छैन।
एमाले महाधिवेशनमा उकेरा नजर
मंसिर १२, २०७८ आइतबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।