बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु

बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीः बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। उपमहानगरको नयाँ भवनमा थ्री फेज लाईन जडानका क्रममा एक जनाको मृत्यु भएको हो।

करेन्ट लागेर अरू २ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भएर हाल बुटवल–३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय वसन्त भुसाल रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसीले बताए।

भुसाल विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी हुन्। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

यसैगरी सोही भवनमा लेबरको रूपमा कार्यरत सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन्।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको प्रहरी प्रमुख केसीले बताए। घाइते दुवै जना बुटवल–४ मा बस्दै आएका थिए।

मंसिर १२, २०७८ आइतबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।