श्रीमतीलाई जवर्जस्ती मानसिक रोगी बनाएको भन्दै उपसचिवविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौँ : तथ्याङ्क विभागका उप-सचिव रामहरी गैरे विरुद्ध २९ वर्षदेखि श्रीमतीलाई चरम यातना दिएको आरोपमा ललितपुर महानगरीय प्रहरी परिसरमा जाहेरी परेको छ।
गैरेले श्रीमती प्रतिभा देवकोटा (गैरे) लाई २९ वर्ष देखि कुटपिट गर्ने गरेको र चरम यातना दिएको जाहेरीमा उल्लेख छ। प्रतिभा देवकोटाका भाइ सुवनराज देवकोटाले जाहेरी दिएका हुन्।
मङ्सिर ८ गते दर्ता भएको जाहेरीमा ‘दिदीलाई भिनाजुले विगतदेखि नै दिदीलाई कुटपिट लगायतको शारीरिक तथा मानसिक यातना दिई घरेलु हिंसा गर्दै आएको र मङ्सिर ८ गते भिनाजुले दिदीलाई कुटपिट गरी मानसिक असन्तुलन भएकी भनी जबरजस्ती एकान्तकुनामा रहेको रिदम अस्पतालबाट भ्यान बोलाएर अस्पतालमा लगिएको बुझिएको' उल्लेख छ।
जाहेरीमा उनले 'मेरी दिदी कुनै पनि मानसिक रोगीको उपचार नभएकीलाई भिनाजुले जबरजस्ती अस्पतालमा राखेको’ दाबी गरिएको छ। प्रतिभा देवकोटाकी फुपूका छोरा कमलराज भण्डारीका अनुसार प्रतिभा देवकोटालाई भिनाजु रामहरि गैरेले पहिलेदेखि नै चरम यातना दिने गरेका थिए।
‘दिदीलाई भिनाजुले पहिले देखि नै चरम यातना दिनुहुँदो रहेछ,’उनले भने, ‘अति भएपछि बल्ल प्रहरीकोमा आयौँ।’
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञ विनोद पोखरेलले जाहेरी आएको र अहिले अनुसन्धान भइरहेको बताए। ‘श्रीमानले कुटपिट गरेको, मानसिक असन्तुलन भएको भनी झुटा स्वास्थ्य अवस्था बताई रिदम अस्पतालमा भर्ना गरेको भनी माइती पक्षको जाहेरी आएको छ,’उनले भने, ‘के के भएको हो दुवै पक्ष बोलाएर बयान लिने काम भइरहेको छ। यही भन्ने निष्कर्षमा पुगेका छैनौँ।’
छोरा नपाएको निहुँमा कुटपिट
तनहुँ जिल्ला भानु नगरपालिका घर स्थायी घर भएका गैरे पेसाले सरकारी जागिरे हुन्। ३ छोरी र एक छोरा समेत भएको उनीहरूको सुरुमा छोरी मात्र पाएको निहुँमा कुट्ने गरेको माइती पक्षको दाबी छ।
‘नुवाकोटमा काज हुँदा छोरी-छोरी किन पाइस् भनेर भिनाजुले कुटेको थाहा पायौँ,’ भाइ कमलराजले भने, ‘अरूले नै पैसा दिएर भागेर काठमाडौँ आउनु भएको थियो।’
त्यस्तै ३ छोरी पछि उनीहरूको छोरा भयो। छोरा भएपछि भने गैरेले श्रीमतीलाई राम्रै व्यवहार गरेको तर पछि फेरि कुटपिट गर्ने गरेको माइती पक्षले आरोप लगाएको छ।
उता आरोपी गैरेले भने घरायसी कुरामा ठाकठुक परे पनि मरणासन्न हुने गरी कुटपिट गरेको भन्ने आरोप निराधार भएको बताए।
‘पहिलो कुरा हाम्रो प्राइभेसी कुरामा तपाईँले नलेखेकै राम्रो। दोस्रो कुरा उनलाई कुटेको भन्ने कुरा गलत हो,’उनले भने, ‘घरमा श्रीमान् श्रीमतीको झम्टाझम्टी त पर्छ नै। उनी बिरामी नै भएर अस्पताल लगेका हौँ।’
गैरेका अनुसार अरू कुनै ल्याबमा जँचाउँदा सिजोफ्रेनिया भन्ने मानसिक रोग देखिएको थियो। त्यो रोग देखिएपछि रिदम अस्पतालमा भर्ना गरिएको हो।
सरकारी जागिर छुटाएर चरम यातना
माइती पक्षका स्रोतका अनुसार प्रतिभा कृषि अनुसन्धान परिषद् नार्कमा स्थायी सरकारी जागिरे थिइन्। केही वर्ष अघि प्रतिभालाई मानसिक तनाव दिँदै जागिर छोड्न जोड गरेपछि उनले राजीनामा दिइन्।
शरीरभरि नीलडाम हुने गरी गैरेले कुट्ने गरेको र अहिले भने लट्ठ्याउने औषधी खुवाएर रिदम अस्पताल पुराइएको माइती पक्षको आरोप छ। यसबारे मेडिकल रिपोर्ट के छ भन्ने उकेराको प्रश्नमा प्रहरी प्रमुख पोखरेलले रिपोर्ट मगाइएको जानकारी दिए।
‘अस्पतालसँग हामीले रिपोर्ट मागेका छौँ,’ उनले भने ‘थप स्वास्थ्य परीक्षण गराउने भनेका छौँ। त्यसपछि मात्रै के रहेछ थाहा हुन्छ।’
गैरेले प्रहरीमा आफूले श्रीमती उपचार गर्न पनि नपाउने भनेर बयान दिएका छन्। ‘मेरी श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पताल लगेको हुँ,’उनले भने, ‘मैले श्रीमतीको उपचार गर्न पनि नपाउनु?’
विभागलाई छैन जानकारी
गैरेका नजिकका साथीहरूलाई सोध्दा श्रीमान् श्रीमतीको राम्रो सम्बन्ध नरहेको आफूहरूले पाएको बताए। भाउजूले कुरै बुझ्नुहुन्न त भन्नुहुन्थ्यो,’उनले भने, ‘सामान्य ठाकठुक होला भन्ने हामीले बुझ्यौँ।’
केन्द्रीय तथ्याङ्क विभागका सरकारी कर्मचारी हुन् रामहरि गैरे। गैरे विरुद्ध परेको जाहेरीबारे विभागले कुनै चासो राखेको पाइएन। केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।
‘उहाँसँग प्रोफेसनल बाहेक अन्य कुरा हुँदैन,’उनले भने, ‘जाहेरी परेको कुरा बल्ल थाहा पायौँ। आरोप पुष्टि भएपछि मात्रै उहाँले काम गर्न के गर्ने भन्ने हुन्छ। आरोप लगाउँदैमा सरकारी कर्मचारीको केसमा एक्सन लिने भन्ने हुँदैन।’
मंसिर १२, २०७८ आइतबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।