गगन थापाले भने : एमालेले चितवनमा जनवाद सक्काएर ओलीको डनवाद स्विकार्‍यो

गगन थापाले भने : एमालेले चितवनमा जनवाद सक्काएर ओलीको डनवाद स्विकार्‍यो

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशन गर्न चितवन पुगेको एमाले प्रजातन्त्र सक्ने बाटोमा हिँड्न लागेको बताएका छन्। उनले एमालेको नेतृत्व बरालिएको भन्दै हिजो माओवादीलाई हिंसात्मक बाटोबाट शान्तिपूर्ण बाटोमा ल्याएझैँ बरालिएको एमालेलाई सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

पार्टीको १४ औँ काठमाडौँको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेले नचाहिने कुरा गरेमा हप्काउने र तथ्यहीन कुरा गर्दा तथ्यका आधारमा बोलेर कांग्रेसले ठिक ठाउँमा ल्याउनुपर्ने बताएका हुन्।

यसका लागि १४ औँ महाधिवेशनबाट बरालिएको एमालेलाई समेत सही बाटोमा ल्याउन सक्ने नेतृत्व चुन्नुपर्ने उनको मत थियो। उनले एमाले नेपाली कांग्रेसको शत्रु नभएको बताए। एमालेले बाटो बिराएर बरालिए उसलाई लोकतन्त्रको बाटोमा ल्याउने जिम्मा कांग्रेसकै भएको उनले बताए।

चितवनमा जारी महाधिवेशनबाट एमाले बरालिएको थापाको टिप्पणी थियो। उनले नारायणीको किनारमा बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको भन्दै भीम रावल मात्र तेल लगाउन सक्दिन भनेर उठेको बताए।

उनले शनिवारबाट एमालेमा जनवाद सकिएको भन्दै अब एमालेमा केपी ओलीको डनवाद मात्रै बाँकी रहेको प्रतिक्रिया दिएका थिए।

राष्ट्रिय राजनीतिमा एमाले काँग्रेसको सहयात्री भएकाले उनीहरूको महाधिवेशनलाई नजिकबाट हेरेर विश्लेषण गर्नुपर्ने उनले बताए।' हाम्रो महाधिवेशनमा एमालेको चासो हुन्छ। उनीहरूको महाधिवेशनमा पनि हाम्रो चासो रहनुपर्छ। एमाले हाम्रो सहयात्री हो। चितवनबाट फर्कँदा उ बरालिने जोखिम देखिएको छ।'

‘यो प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउन चितवनबाट फर्किएको एमालेसँग चुनावमा होइन, त्योभन्दा अगाडि नै जुध्न सक्नुपर्छ,' उनले भने' कांग्रेसले सिङ्गो पार्टीलाई जुरुक्क उचाल्न सक्ने नेतृत्व यो महाधिवेशनले ल्याउन सकेन भने त्यसको मूल्य कांग्रेसले मात्रै होइन, प्रजातन्त्रले, संविधानले, यो व्यवस्थाले चुकाउनुपर्नेछ।’

मंसिर १२, २०७८ आइतबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।