सुवास नेम्वाङले नमानेपछि सेलेक्सनमा पनि ओलीलाई सकस
चितवन : ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष मान्न नसक्ने अडानमा पूर्व सभामुख सुवास नेम्वाङ अडिग भएपछि इलेक्सन छाडेर सेलेक्सनका आधारमा एमालेको केन्द्रीय कमिटी चयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय गर्न सकेका छैनन्।
उनले निर्वाचन प्रक्रियाको साटो आफू अनुकूलका नेताहरू समेटेर केन्द्रीय समिति बनाउन शनिवार बन्द शत्रबाट अधिकार लिएका थिए। तर आफ्नै समूहका नेताबिच पदीय जिम्मेवारीमा सहमति हुन नसक्दा उनी बन्द शत्रमा आउन सकेका छैनन्।
उनी होटलमै बसेर आफू निकट नेताहरूसँग परामर्श गरिरहेका छन् भने असहमत नेताहरूलाई मनाउने प्रयास गरिरहेका छन्। नेम्वाङले उपाध्यक्षमा बस्न ओलीले गरेको प्रस्ताव स्वीकार गरेका छैनन्।
जानकार स्रोतका अनुसार ओलीले अहिले अप्ठ्यारो अवस्था रहेकाले उपाध्यक्ष पदमा बस्न नेम्वाङलाई सन्देश पठाएका थिए। प्रतिउत्तरमा उनले आफूले ओलीलाई नेता मानेको र उनी बाहेक अन्य कसैलाई नेता स्वीकार गर्न नसक्ने सन्देश पठाएका छन्।
यदि आफू उपाध्यक्षमा सहमत हुनुपर्ने हो भने वरिष्ठ उपाध्यक्षको प्रावधान खारेज गर्नुपर्ने उनको माग रहेको जानकार स्रोतले बतायो। नेम्वाङले ईश्वर पोखरेललाई नेता मान्न अस्वीकार गरिसकेका छन्।
ओलीलाई भेटेर बाहिरिँदै नेम्वाङले आफूले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने बताए। 'अध्यक्षले कुराकानी गरिरहनुभएको छ, मैले पद छाडेको छैन,' उनले भने। ईश्वर पोखरेल र नेम्वाङ दुवै पार्क सफारी रिसोर्टबाट बन्द सत्रको लागि भन्दै निस्केका छन्।
आफ्नो समूहमा एकमत बने आजको बन्द शत्रमा पदाधिकारीकारीको नाम पढेर प्रस्ताव गर्ने र कसैले असहमती जनाए ध्वनि मतको आधारमा विवाद टुङ्ग्याउने रणनीति ओलीको देखिन्छ। तर आफ्नै समूहमा सहमति हुन नसक्दा उनले आफ्नो रणनीति बन्द शत्रसम्म लैजान समेत सकेका छैनन्।
महासचिवमा शङ्कर पोखरेल र विष्णु पौडेलले दाबी गरिरहेका छन्। तर उनीहरूले नेम्वाड्डझैँ अडान लिएका छैनन्। अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले बन्द शत्र स्थल बाहिर आफ्नो उम्मेदवारीबारे समर्थकमार्फत पर्चा बाँडिरहेका छन्।
उपाध्यक्षको उम्मेदवारी दिने दाबी गरिएका घनश्याम भुसाल भने महाधिवेशन स्थलमा आफ्नो उम्मेदवारीबारे त्यति सक्रिय देखिएका छैनन्। ओलीले बन्द शत्रमा पदाधिकारीको नाम पढेर सर्वसम्मत गर्ने प्रयास गरे विरोध गर्ने र परिआए अदालतसम्म जाने रावल समूहको तयारी देखिन्छ।
रावलले रणनीति बनाउन आइतबार बिहान आफू निकट नेताहरूसँग छलफल समेत गरिसकेका छन्।
मंसिर १२, २०७८ आइतबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।