ज्यापु दिवसमा सार्वजनिक बिदा दिन माग, प्रधानमन्त्रीलाई चाँदीको सिक्का सहित निमन्त्रणा

ज्यापु दिवसमा सार्वजनिक बिदा दिन माग, प्रधानमन्त्रीलाई चाँदीको सिक्का सहित निमन्त्रणा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठुलो योगदान रहेको बताएका छन्।

१८ औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उनले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए।

पुस ४ गते बशन्तपुरमा ज्यापु दिवस मनाइँदै छ। आयोजकले प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरूप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिङ्गो सुपारी राखी कोषका अध्यक्ष मङ्गलकृष्ण सिंले परम्परागतरुमा निमन्त्रणा दिएका थिए।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरू आज प्रधानमन्त्री कार्यालय पुगेका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्यकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७-५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो।

यस क्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरिपुन्हि-ज्यापुदिवसको पर्व बिदा विगत दुई वर्षदेखि सम्बन्धी जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए।

मंसिर १२, २०७८ आइतबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।