केन्याको बारमा नेपाली युवती नचाउने क्यानडेली नागरिकलाई ३० वर्ष जेल

केन्याको बारमा नेपाली युवती नचाउने क्यानडेली नागरिकलाई ३० वर्ष जेल

एजेन्सी : नेपाली युवतीको तस्करी गराएर केन्या पुर्याई जवर्जस्ती डान्सबारमा काममा लगाउने गरेको आरोपमा पक्राउ परेका भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठालाई ३० वर्ष कैद सजायको फैसला सुनाएको छ।

केन्याको मोम्बासास्थित मानव बेचबिखनको मुद्दा हेर्ने अदालतले नेपाली युवतीको तस्करीमा उनलाई दोषी ठहर गर्दै कैद सजाय तोकेको हो।

म्वाकिलिसी डटकमका अनुसार उनीमाथि नेपाली युवतीको तस्करी र बेचबिखन गरेको तथा अरूको राहदानी नियन्त्रणमा लिएको आरोप लगाइएको थियो। सोही आरोपमा उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना गरिएको छ।

सन् २०१९ मा स्थानीय प्रहरीले केन्याको मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारमा छापा मारेर १२ जना नेपाली युवतीको उद्धार गरेर नेपाल फर्काएको थियो। नेपाल फर्किएका युवतीहरूबारे नेपालमा प्रहरीले अनुसन्धान गरे पनि उनीहरुहरुको असयोगका कारण नेपालमा रहेका जेठाका सहयोगी फेला परेनन्।

उद्धार गरिएकामा २ जना नेपाली युवतीको उमेर १६ र १७ वर्ष रहेको खुलेको थियो। ८ जना २२ र २६ बिचका थिए भने २ जना ३० वर्षका थिए।

केन्याको बारमा नेपाली युवतीहरू फेला परेपछि यो समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत आएको थियो। केही वर्ष अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कामको प्रलोभनमा अफ्रिकी देशमा नेपाली युवतीहरू पुर्याएर जवर्जस्ती नाइट क्लबहरूमा काममा लगाएको आरोपमा भारतीय नागरिकसहितको एक र्याकेटकै पर्दाफास गरे पनि महिला तस्करी भने रोकिन सकेको छैन।

मंसिर १२, २०७८ आइतबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।