मोरङ कांग्रेसको सभापतिमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै 

मोरङ कांग्रेसको सभापतिमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै 

इटहरीः नेपाली कांग्रेस मोरङको सभापतिको लागि तीन जनाको उम्मेदवारी परेको छ। संस्थापन पक्षबाट १ र इतर पक्षबाट २ जनाको उम्मेदवारी परेको हो। 

इतर पक्षको गढ मानिएको मोरङमा १३औं महाधिवेशनमा संस्थापन प्यानलका उम्मेदवार डिगबहादुर लिम्बू सभापति निर्वाचित भएका थिए। 

यसपटक लिम्बू इतर पक्षबाट उठ्दैछन्। इतरबाटै यदुकुमार विष्टको उम्मेदवारी परेको छ। यता संस्थापन पक्षबाट दिलीप गच्छदारले उम्मेदवारी दिएका छन्। 

यी तीनमध्ये लिम्बू बढी शक्तिशाली देखिएका छन्। 

लिम्बू, इतर प्यानलका आधिकारिक उम्मेदवार हुन्। सभापति निर्वाचित भएको केही समयमै कोइराला टीममा खुलेका उनी मोरङका शक्तिशाली नेताको रूपमा उदाएका छन्। 

०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका उनी उत्तरी मोरङबाट सभापति हुने भाग्यमानी नेता हुन्। तर उनकै कार्यकालमा कांग्रेस सबैभन्दा कमजोर भयो। 

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये १ निर्वाचन क्षेत्रमा विजयी गरेको कांग्रेसमा पुनः उनै सभापति हुने सम्भावना देखिएको छ। इतर पक्षका विष्टको उम्मेदवारीले केही चुनौती बढाए पनि लिम्बूलाई पराजित गराउन सक्ने अवस्था देखिँदैन। 

हालका जिल्ला सचिव विष्टले गिरोहको हातमा कांग्रेस जान थालेको भन्दै कांग्रेस बचाउन उम्मेदवारी दिन खोजेको बताएका छन्। लिम्बूले आफ्नो कार्यकालमा कुनै पनि उपलब्धि हासिल नगरेको र पार्टी ठेकदारलाई जिम्मा लगाउने काम गरेको उनको आरोप छ।  

उता लिम्बूले भने टीम र पार्टीमा एकता ल्याउन आफू लागिपर्ने बताएका छन्। विगतमा गरेको गल्ती सच्याउँदै अगाडि बढ्ने उनले बताए।

पार्टी कार्यालय भवन निर्माणदेखि संगठन सुदृढिकरणमा लागेको तर प्रचार नभएको उनले सुनाए। विरोधी साथीहरूको विचारलाई पनि साथमा लिएर सबैलाई भूमिका दिनेगरी आफू लागिपर्ने उनको भनाइ छ। 

संस्थापन पक्षका उम्मेदवार गच्छदार कमजोर उम्मेदवारको रूपमा देखिएका छन्। तथापि, इतर पक्षका दुई उम्मेदवार भएका कारण आफू विजयी हुने उनको विश्वास छ। 

लिम्बूको कार्यकालमा कांग्रेस कमजोर भएको स्मरण गराउँदै उनले अब आफू सभापति हुनुपर्ने बताए। कांग्रेसभित्रको गुटगत राजनीतिलाई निस्तेज पार्नेगरी आफू अगाडि बढ्ने उनको भनाइ छ। 

उनलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको साथ छ।

मंसिर १२, २०७८ आइतबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।