देश चलाउन नयाँ राष्ट्रवादी शक्ति आवश्यक : भट्टराई
बुटवल : जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश चलाउन नयाँ ढंगको राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन्।
कांगे्रस, एमाले लगायत पुराना राजनीतिक दलबाट देश नचल्ने भएकाले नयाँ राष्ट्रवादी शक्ति आवश्यक रहेको बताए। जनता समाजवादी पार्टीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश चलाउनका लागि जसपा, माओवादी, मधेशवादी र जनजाति आन्दोलनबीच नयाँ ढंगले एकता गर्नुपर्ने बताए।
जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यसमेत रहेका डाक्टर भट्टराईले पुराना शक्ति कांगे्रस, एमालेबाट देश चल्नै नसक्ने आरोप लगाए। ‘कांगे्रस, एमाले लगायतका पुराना राजनीतिक दलमा वैचारिक स्खलन भइसकेको छ। पुरानाबाट कुनै अपेक्षा गर्न सकिँदैन,’ उनले भने।
उनले देश प्रतिगमनतर्फ गएको बताउँदै संसद् विघटन गर्न रोकिए पनि पुराना शक्तिहरु हावी हुँदा प्रतिगमनको खतरा कायमै रहेको दावी गरे। एमाले अध्यक्ष केपी ओलीले प्रतिगमनको नेतृत्व गरेको आरोप लगाउँदै भट्टराईले त्यसका विरुद्व अब नयाँ ढंगको राष्ट्रिय एकता आवश्यक रहेको बताए।
जनताको चाहना अनुसार देशमा परिवर्तन हुन नसकेको उल्लेख गर्दै अपेक्षा अनुसार परिवर्तन नभएकाले दलप्रति जनताको निराशा छाएको उनले बताए। राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउँदै उनले चितवनमा जारी एमालेको महाधिवेशनलाई लक्षित गर्दै जनतालाई भ्रममा पार्न ओलीले गाईजात्रा गरेको टिप्पणी गरे।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राइले जनतालाई जागरुक बनाउन र संगठन विस्तारका लागि जागरण अभियान सञ्चालन गरिएको बताए।
मंसिर १२, २०७८ आइतबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।