कांग्रेस जिल्ला अधिवेशनमा भोट हाल्न आएका बलवीर : नेताका गफ पनि सुन्ने, सुइटर पनि बुन्ने
सुर्खेत: पञ्चपुरी नगरपालिका —१ कुवादोलाका बलवीर बुढा ६५ वर्षका भए। उनी नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
दुई तीन दिनयता सुर्खेतमा पनि जिल्ला अधिवेशनको माहोल तातेको छ। जिल्ला अधिवेशनमा सबै नेता कार्यकर्ताहरू गफगाफ र आफ्नो पक्षमा कसरी मतदाता ल्याउने छलफल चलाइरहेका छन्।
आज आइतबार ११ बजेदेखि नै नेपाली कांग्रेस सुर्खेत जिल्लाको निर्वाचन सुरु भएको छ। सभापति निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन भइरहेको छ।
तर बलवीर भने निर्वाचनको माहोलसँगै आफ्नै काममा व्यस्त देखिन्छन्।
०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध उनको काँधमा झोला, हातमा ऊन र काँटी छ। उनी सुइटर बुन्नमा व्यस्त देखिन्छन्। हातमा उनको नयाँ बुन्दै गरेको सुइटर छ। झोलामा बुनिसकेका सुइटर राखेका छन्। उनी एकैपटक नेताहरूका कुरा पनि सुन्छन् र सुइटर पनि बुन्छन्।
घरमा पनि बिहान उठेदेखि साँझ नसुत्ने बेलासम्म अरू कामसँगै सुइटर बुन्ने कामलाई पनि निरन्तरता दिन्छन्।
सामान्य लेखपढ गरेका बलवीर ०५० सालमा जुम्लाबाट सुर्खेत बसाईँ सरी आएका हुन्। यो अधिवेशन अवधिभर उनले २० भन्दा बढी सुइटर बेचिसकेका छन्।
सुइटरको डिजाइनअनुसार १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेच्ने गरेको उनले बताए। उनको पेशा, व्यवसाय नै यही हो।
‘गाउँबाट भोट हाल्न आएको, नेताहरूका कुरा सुनेर मात्र भएन। दुई/चार सय भए पनि घरखर्च चल्छ’, बलवीरले भने, ‘कानले नेताका कुरा पनि सुन्ने हातले सुइटर पनि बुन्ने। यही अधिवेशन अवधिभर मैले ३० हजार रुपैयाँ जति कमाइ सकें।’
उनी सुइटर, राडी, लिउ, लेडिज सुइटर, टोपी, गलबन्दी, झोला, चौंरीकोट, पञ्जा आदि बुन्ने गर्छन्। उनलाई एउटा हाफ सुइटर बुन्न चार दिन लाग्छ।
यही सीपबाट उनले आफ्नो घरव्यवहार चलाएका छन्। उनको घरमा चार छोरा, दुई छोरी, तीन नाति, दुई नातिनी, दुई बुहारी र आफू दुई बुढाबुढी छन्।
मंसिर १२, २०७८ आइतबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।