माओवादी पालिका अधिवेशन: कास्की र चितवनमा कतै नेतृत्त्व चयन, कतै बाँकी

माओवादी पालिका अधिवेशन: कास्की र चितवनमा कतै नेतृत्त्व चयन, कतै बाँकी

पोखरा महानगरपालिकासहित मादी, रूपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्त्वका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्त्व चयन नभएको हो।

मादी गाउँपालिकामा भने तोरण गुरुङको अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको छ। कमिटीको उपाध्यक्षहरूमा नन्दश्री गुरुङ, रुद्र रानाभाट र एङ्गेल्स कार्की रहेका छन्। कुल ५० सदस्यीय कमिटी निर्वाचित गरिएको जिल्ला सचिवालय सदस्य लालबहादुर गुरुङले बताए।

माछापुच्छे, रुपा र अन्नपूर्ण गाउँपालिकामा पदाधिकारीमा सहमति हुन सकेको छैन। यस्तै बाँकी अन्य पालिकामा केही दिनमै नयाँ नेतृत्त्व चयन गरिने बताइएको छ।

यता चितवनमा भने पाँच पालिकामा नयाँ नेतृत्त्व चयन भएको छ। भरतपुर महानगरपालिकासहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्त्व चयन गरिएको हो।

कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्त्व चयन हुँदैछ। नयाँ चयन भएका नेतृत्त्वमा भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङ रहेका छन्। उनीहरू सर्वसम्मत चयन भएका हुन्।

मंसिर १२, २०७८ आइतबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।