पूर्वमाओवादी 'लडाकु' दिलकुमारीको अनुभव- पसिना बगाउँदा 'क्रान्ति' हुँदोरहेछ
त्यो बेला गाउँमा ‘क्रान्तिकारी’हरूले विभेद, उत्पीडन र अन्यायको अन्त्य जनयुद्धबाट मात्र सम्भव छ भनेर प्रचार गर्थे। दिलकुमारी सहजै विश्वास गर्थिन्।
०४५ सालमै तुलाराम घर्तीसँग उनको विवाह भइसकेको थियो। २ छोरी र अढाई वर्षीयको छोरोलाई घरमै सासूससूरालाई जिम्मा लगाएर दिलकुमारी ‘परिवर्तन गर्न’ हिँडिन्। श्रीमान्ले पनि साथ दिए।
१० वर्षे सशस्त्र द्वन्द्वको क्रममा उनले उठाएको बन्दुकले देशमा कति परिर्वतन भयो, दिलकुमारी अज्ञात छिन्। तर पसिना बगाउनु नै ठूलो क्रान्ति हो भन्ने अहिले उनले बुझ्न थालेकी छिन्।
विद्रोहीबाट दिलकुमारी कृषी उद्यमी भएकी छिन्।
'देशमा परिर्वतन गर्ने भनेर हिँड्यौं। सबैको विचार मिलेन। जुन परिर्वतनका सपना देखियो केही त आंशिक पूरा भए। तर समस्या जस्ताका त्यस्तै रहीरहे’, उनले भनिन्।
माओवादी द्वन्द्व शान्ति प्रक्रियामा आएर टुंगियो। उनले पनि 'क्रान्तिकारी' जीवनलाई उद्यमी जीवनमा ल्याएर टुंग्याइन्।
उनी ०६८ सालदेखि व्यावसायिक च्याउ खेती गर्दै आएकी छिन्। ०६८ सालमा कपिलबस्तुबाट पाल्पाको तिनाउँ गाउँपालिकामा बसाईँ सरेकी दिलकुमारीले अहिले तिनाउ गाउँपालिकाकै भूतखोलामा व्यावसायिक र सामूहिक च्याउ खेती गरिरहेकी छिन्।
सुरुमै २ सय वटा बल्भ च्याउ लगाएर व्यावसायिक च्याउ खेतीमा लागेकी दिलकुमारीलाई पहिलो प्रयासमै ३ गुणा आर्थिक लाभ भयो। त्यसपछि उनलाई लागेको हो- क्रान्ति पसिना बगाउनुमा छ।
तिनाउ साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी दिलकुमारीकै नेतृत्त्वमा ३० महिलाले सामूहिक च्याउ खेती समेत गरेका छन्।
०६८ सालमा १० हजार ऋण लिएर च्याउ खेती सुरु गरेकी उनले वार्षिक १० लाखसम्म आम्दानी समेत गर्दै आएकी छिन्।
उनको कृषि कर्मकै कारण यो वर्ष उनलाई विमेन्स वर्ल्ड समिट फाउन्डेसन (डब्ल्यू डब्ल्यू एस एफ)ले पुरस्कृत समेत गरेको छ।
हरेक वर्ष विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील १० महिलालाई पुरस्कृत गर्ने यस संस्थाले नेपालबाट दिलकुमारीलाई छनोट गरेको हो।
उनले एक हजार डलर अर्थात एक लाख रुपैयाँभन्दा बढी नगद पुरस्कार पाइन्। 'कर्मको फल प्राप्त गरे जस्तो लाग्छ। तर पनि अझै धेरै गर्न बाँकी छ। त्यो हाम्रो सामूहिक पहलले हुनेछ', उनले भनिन्।
समाचार हेरेर च्याउ खेती
उनले थुप्रै पटक च्याउ खेतीमा मनग्य आम्दानी हुने समाचार पढेकी थिइन्। केही गर्नुपर्छ, क्रान्तिकारी परिर्वतन कृषिबाट सम्भव छ भन्ने उनलाई पनि लाग्दै थियो।
'समाचार हेर्दा मलाई कतिखेर च्याउ खेती गरौं भन्ने लाग्थ्यो। तर व्यावसायिक च्याउ खेतीका लागि मसँग पैसा थिएन', उनले भनिन्, 'तर पनि आँट गरेर बुटवलको फेवा सहकारीबाट १० हजार ऋण लिएर सुरु गरें।'
च्याउ खेती कसरी गर्ने धेरथोर दिलकुमारीलाई जानकारी थियो। खेती गर्ने तरिका र समाचार हेरेर पाएको सिकाइले च्याउ खेती सुरु गरिन्।
सुरुमा ४ वर्षसम्म एक्लै च्याउ खेती गरेकी दिलकुमारीले त्यसपछि च्याउलाई बजारसम्म लैजान र अझ व्यावसायिक रूप दिन सामूहिक च्याउ खेतीको योजना बनाइन्।
तिनाउ अर्गानिक च्याउ उत्पादन समूहका नामबाट खेती थालिन्। गाउँका २, ४ हुँदै अहिले ३० घरका दिदीबहिनी जोडिएका छन्।
छैन बजारको समस्या
च्याउ बिक्रीका लागि गाह्रो छैन। बुटवल र आसपासमा पाल्पाको अर्गानिक च्याउ भन्दै बिक्रि हुन्छ। व्यापारी र उपभोक्ता घरमै पुगेर च्याउ खरिद समेत गर्दछन्।
अहिले २२ सय डल्ला च्याउ तिनाउ अर्गानिक च्याउ उत्पादक समूहले लगाएको छ। 'बजार भाउ राम्रो छ। अहिले पनि प्रतिडल्लाबाट ३ केजी सम्म च्याउ निसक्न्छ', उनले भनिन्।
प्रतिकेजी १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा बिक्री हुँदै आएको च्याउ गत असारदेखि कात्तिकसम्म मात्र १३ टन ६५ केजी बिक्री भइसकेको उनले बताइन्।
अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले समूहलाई दुई लाख रुपैयाँ प्रदान गरेको थियो। सो रकमबाट च्याउ खेती गर्न आवश्यक प्लाष्टिक, जाली र स्प्रे मेसिन खरिद गरी उत्पादन, प्रवर्धन र बजारीकरणका लागि पहल गरिएको उनले बताइन्।
च्याउ कृषकलाई प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्ने हो भने नेपालको च्याउलाई विदेश निर्यात समेत गर्न सकिने उनी बताउँछिन्।
अहिले पनि च्याउमा बीमा नभएकाले किसानले क्षति व्यहोरेको भन्दै च्याउमा बीमा गराउन सरकारले अग्रसरता देखाउनुपर्ने उनको माग छ।
हाल दिलकुमारीको कृषि कर्ममा उनका श्रीमान् तुलाराम घर्तीले पनि साथ दिइरहेका छन्। श्रीमान् तुलाराम माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन्।
मंसिर १२, २०७८ आइतबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।