एनआरएनका अध्यक्ष पन्तको आरोप : संरक्षक परिषद् एकता खलबल्याउने गतिविधिमा संलग्न 

एनआरएनका अध्यक्ष पन्तको आरोप : संरक्षक परिषद् एकता खलबल्याउने गतिविधिमा संलग्न 

पन्तले विज्ञप्ति निकालेर ६५ प्रतिशत अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटबारे परराष्ट्र मन्त्रालयले गरेको अनुरोधलाई अस्वीकार गरेका छन्। ‘विधानको अनुसूची ६(क) मा ‘प्राथमिकता सूचीमा रहेका व्यक्तिहरूले अर्थात् ६५ प्रतिशत प्रतिनिधिमा छनोट हुन चाहने व्यक्तिहरूले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने उल्लेख गरिएको छ,’पन्तले लेखेका छन्,‘यस छनोट प्रक्रियाको समय नयाँ कार्यसमिति बनी सकेको हुँदैन। त्यसैले ६५ प्रतिशत प्रतिनिधिको छनोट पुरानो कार्यसमितिले नै गर्नुपर्छ।’ 

पन्तले पहिलेको विधानमा ६५ प्रतिशत प्रतिनिधिको व्यवस्था नभएकोले मन्त्रालयले उल्लेख गरेको ‘प्रचलित अभ्यास’ को कुनै अर्थ नरहने उल्लेख गरेका छन्। 

उनले अहिलेको विवाद ६५ प्रतिशतमा नभई केही राष्ट्रिय समन्वय परिषद्हरूले पठाएका २५ प्रतिशत महाधिवेशन प्रतिनिधिमा रहेको जिकिर गरेका छन्। ‘सङ्घ निष्क्रिय रहन गएमा वा संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषद्ले अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बैठक बस्न निर्देशन गर्छ,’अध्यक्ष पन्तले विज्ञप्तिमा लेखेका छन्,‘अहिले सङ्घ न त निष्क्रिय भएको अवस्थामा छ, न  विभाजित हुने अवस्थामा। अतः अहिले संरक्षक परिषद् सक्रिय हुने अवस्था छैन।’ 

मन्त्रालयले भने झैँ संरक्षक परिषद् मार्फत निर्वाचन गराउने विधानमा कहीँ कतै उल्लेख नभएको जिकिर अध्यक्ष पन्तले गरेका छन्। 

उनले केही संरक्षक परिषद् सदस्यहरू गैरआवासीय नेपालीबीचको एकता खलबलाउने गतिविधिमा संलग्न भएको आरोप लगाउँदै सचेत समेत गराएका छन्। 

गत अक्टोबरमा सम्पन्न हुनु पर्ने गैरआवासीय नेपाली सङ्घको १०औ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयले रोकेको थियो। मन्त्रालयले महाधिवेशन रोकेपछि सङ्घको वर्तमान कार्य समितिले ६ महिना कार्यकाल थप गरेर पछिल्लो पटक डिसेम्बर १५ तारिखमा अनलाइन मार्फत निर्वाचन र डिसेम्बर १९२० मा भौतिक रूपमा काठमाडौँमा महाधिवेशन हुने तयारी गरेको अध्यक्ष पन्तले विज्ञप्तिमा लेखेका छन्। 

एनआरएन स्थापनाको १८ वर्षमा पहिलो पटक तोकिएको मितिमा चुनावी महाधिवेशन हुन नसकेको हो। अबको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष रबिना थापा र बद्री केसी तथा कुमार पन्तसँग अध्यक्षमा पराजित भएका कुलप्रसाद आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। तर, चुनाव कहिले हुने हो टुङ्गो भने छैन। 

मंसिर ११, २०७८ शनिबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।