सिद्धार्थको छक्क पार्ने अभिनय यात्रा : ४० कटेसी अभिनयको प्यास मेटे, दोस्रो फिल्ममै अनुपम खेर भेटे
सिद्धार्थ सिंह उर्फ केएसएच नन्दु सिंह। जन्म घर भारत डुबोर्सको जैगाउँ। तर उनले नेपाल कर्मथलो बनाएको दुई दशक बढी भयो। भारतको मणिपुर घर थियो उनका बाबुको तर आमा भने नेपाली। सिन्धुपाल्चोकबाट कामको सिलसिलामा भारत जाँदा उतै प्रेम विवाह गरेकी थिइन् उनको आमाले।
उनी जन्मिएको जैगाउँ इन्डो भुटानमा पर्छ। पढ्नका लागि भुटानमै बख्खु लगाएर गएको धमिलो सम्झना अझै छ सिंहसँग। सानैदेखि कलाकारितामा रुचि भए पनि ४ दशक काटेपछि मात्रै उनी व्यावसायिक रूपमा कलाकार भएका छन् त्यो पनि भारतीय फिल्म मार्फत।
भारतीय कलाकार हालै नेपाल आएर फिल्म 'उचाइ' को छायाङ्कन गरेर फर्किइसक्यो। त्यही फिल्ममा उनले अभिनयको मौका पाए नेपाली शेर्पाको। भारतका चर्चित कलाकार परिणिता चोपडा अनि अनुपम खेर लगायतकासँग शेर्पाको भूमिकामा अभिनय गरेका सिंहसँग उकेराकर्मी पुष्पा थपलियाले गरेको संवाद :
ठुलो फिल्मी नगरी मुम्बई छाडेर नेपाल आउनुभयो। तर यतैबाट बलिउड फिल्ममा प्रवेश गर्नुभयो। किन यस्तो उल्टो?
लेखेको कुरा पुरा भएरै छाड्छ भन्ने उदाहरण होला यो। सानैदेखि कलाकारिता चाख थियो। कसैले पैसा दिन्छु भने नाच्न गाउन पछि नहट्ने, नलजाउने स्वभाव थियो। बाबु व्यापारी थिए। त्यसैको सिलसिलामा कहिले नागाल्याण्ड, कहिले कालिम्पोङ सरिरहनुहुन्थ्यो। हामी पनि उहाँकै पछि लाग्थ्यौँ। हुर्कँदै जाँदा सन्डे,मायापुरी जस्ता म्यागाजिनहरु पढ्ने बानी पर्यो। त्यहाँ दाउद इब्राहिम, अरुण राउले, हर्षत मेहताहरूको समाचार पढ्न पाइन्थ्यो। ती समाचारले गर्दा मलाई मुम्बइले तानिरहन्थ्यो।
साथीहरूलाई ‘एक दिन तो मुम्बई जाना हि जाना हे’ भन्थेँ। मुम्बइसँग निकै लगाव हुँदा पनि अहिलेसम्म पुगेको भने छैन।
नेपाल कसरी आइपुग्नुभयो ?
म ७ वर्षको हुँदा आमा बित्नुभयो। सायद त्यही कारण मैले बाटो बिराउन पुगेँ। म भड्कन पुगेँ। त्यसैले हाई स्कुलसम्मको पढाइ मात्रै गर्न सकेँ। आर्थिक समस्या र विभिन्न कारणले गर्दा पढाइमा चाख लागेन।
सन् १९९८ तिरको कुरा हो। म मेरो साथीको साथमा घरबाट मुम्बई जान भनेर भागेँ। साथी दार्जिलिङ कर्स्याङको थियो। त्यहाँ साथीको दाइले मुम्बइमा गुन्डाहरू हुन्छन् लुट्छन्, बरु नेपाल जाऊ भनेर सुझाए। त्यो बेलामा भिजिट नेपाल पनि चलिरहेको थियो। हामी मुम्बइको बाटो छाडेर नेपालतिर लाग्यौँ।
नेपाल आउनका लागि सजिलै निर्णय लिनुभएछ त!
कता सजिलै हुनु नि। नेपाल आउनु मेरो बाध्यता थियो। किनभने साथीको पल्ला भारी थियो। मसँग जम्मा ३५ रुपैयाँ मात्रै थियो भने साथीसँग झन्डै ८ हजार भारु थियो। खल्तीमा पैसा छैन, अर्काको पछि लागेको छ, आफ्नो हैकम चलाउन कहाँ मिल्छ र। त्यहीमाथि हाम्रो केही दिन नेपाल बसेर फेरी मुम्बई नै जाने योजना थियो। केही दिन बस्ने बित्तिकै यहाँको एक स्कुलको होस्टेलमा कामको अफर आयो। महिनाको १५ सय रुपैयाँ। बिस्तारै पढाउन पनि थालेँ। पाँच कक्षासम्म अङ्ग्रेजी विषय पढाउँथे। विद्यार्थीले मेरो पढाई रुचाउन थालेपछि मेरो कलाकारिता छायामा पर्दै गयो।
कति समय पढाउनुभयो ?
कोभिड भन्दा अघिसम्मै पढाएँ। काम राम्रो हुँदै गएपछि अन्य स्कुलबाट पनि अफरहरू आउन थाल्यो। तलब सेवा सुविधा बढ्दै गएपछि यतै भुँले। कोभिडले स्कुलहरू बन्द भयो। समयमा तलब दिएन। बारम्बार आग्रह गर्दा बिदा लिनुस् भने। जागिरबाट निकालिएपछि मात्रै पढाउन छाडेँ भनौँ।
तर बिचबिचमा पढाउन छाडेर यताउता पनि गरेँ है। बच्चा बेलामा कलाकारितासँगै मेरो अर्को रुचि पनि थियो। भारतीय आर्मी बन्ने। मेरो दाइने हातमा ६ ओटा औँला थियो। साथीहरू सबैले मलाई एक्स्ट्रा भनेर बोलाउँथे। निकै ह्युमिलेसन फिल हुन्थ्यो। आर्मीमा जान मैले टिनएजमा हातको एक्स्ट्रा औँला काटेर फालिदिएँ। तर काटेको कुरा जसरी पनि देखिने रहेछ। नेपालमा पढाउन छाडेर म आर्मीमा ७ चोटिसम्म गएँ। तर भर्ना लिएन।
६ ओटा औँला भएकै कारण आर्मीका लागि अयोग्य हुनुभयो ?
हो नि। त्यो बेलामा मलाई निकै रिस उठेका थियो। ‘अनफिट लोगको आपलोग भर्ना लेते हो, मे कौनसा काममे अनफिट हुँ। आपको लगताहै मुझे बन्दुक चलाना नही आता या नही सकता। याद करिए, आप लोगको बडतापके कारण मै अपरिधिक संगठनों मे चला जा सकता हुँ।’ रिसको झोकमा यसरी थर्काएपछि हरियो बर्दी लगाउन सपना कहिल्यै पुरा नहुने गरेर सकियो। तर अब बहादुर भन्ने फिल्ममा आर्मीको भूमिका मिल्दै छ। रियलमा आर्मीको बर्दी लगाउन नपाए पनि रिलमा अवश्य लगाउनेछु।
नेपालमा मोडलिङ पनि गर्नुभएको रहेछ।
भारतीय आर्मीमा भर्ना हुन नसकेपछि फेरि म नेपाल आएँ। यतै रमाउन थालेँ। काठमाडौँको वातावरणमा नै केही गर्ने इच्छा लाग्यो। फिल्म अति हेर्थेँ। डल्लुबाट हिँडेर हलहलमा पुगेर पनि फिल्म हेर्न पुग्थेँ।
बिस्तारै मलाई मोडलिङ गर्न मन लाग्यो। केही फेशन शोको र्याम्पमा पनि हिँडे। तर काम गरेबापत पारिश्रमिक नै नपाइने। म्युजिक भिडियो खेल्ने अफर आउँथ्यो तर आफैले पैसा तिर्नुपर्ने। भारतमा मोडलिङबाट छिरेर फिल्म खेल्न पाएका कलाकार धेरै थिए। त्यसैको लोभले पनि मलाई मोडलिङको भूत चढेको थियो। तर नेपालमा यसले केही फाइदा नपुग्ने रहेछ भन्ने महसुस गर्न समय लागेन।
अनि ?
२००८ सालमा काठमाडौँकै नेवार परिवारकी छोरीसँग बिहे गरेँ। उहाँ पनि स्कुलको मिस हुनुहुन्थ्यो। भ्याली बाहिर, त्यो पनि देशै बाहिरको मान्छे भएकाले ससुराली परिवारलाई मनाउन निकै मुस्किल पर्यो। चेलीबेटी बेचबिखनको समस्या अति थियो त्यो बेला। त्यही भएर ससुराली निकै डराउनुभएको थियो। तर मैले उहाँहरूको विश्वास जितेँ। बिहे गरेपछि जिम्मेवारी बढ्यो भनौँ।
फेरि बिहे लगत्तै हङकङ जाने अवसर पनि मिल्यो। परिवारमा श्रीमतीले जान दिइरहेकी थिइनन्। तर भविष्यका लागि भनेर म हङकङ गएँ। विडम्बना, जुन कामका लागि भनेर हङकङ गएको थिएँ, त्यो त क्यानसिल भएछ। २ वर्षका लागि भनेर बिदा मागेर हिँडेको १५ दिन पनि नसकिँदै फर्कनुपर्ने भयो। त्यो मलाई स्वीकार्य थिएन। मैले ओभरस्टे गरेँ। गैर कानुनी रूपमा हङकङमा बसेँ।
गैर कानुनी भएपछि त्यहाँ काम गर्न पाइँदैन। लुकिचोरी काम गर्नुपर्ने हुन्छ, थाहा पाए जेल हालिदिन्छ। त्यसैले भारतीयहरूको घरमा स्प्रे लगाउने, पाउरोटी डेलिभरी गर्ने, नेपाली कलवहरुमा डिजेदेखि वेटर हुँदै भाँडा माझ्नेसम्मको काम गर्थेँ। यी सबै कामहरू गर्दा मैले इन्जोय गरेँ। इन्डो, फिलिपिनो लगायतहरुलाई नेपाली गीतको बानी लगाइदिएको थिएँ। टाढाबाट 'डिजे प्ले द सङ' भन्थे, म ह्वीच सङ भनेर सोध्थेँ, उनीहरू गुराँसै फुल्यो बनैमा भन्थे। मेरै रमाइलो प्रवृत्तिका कारण क्लबमा सानातिना सौन्दर्य प्रतियोगितादेखि बर्थडे पार्टीसम्मको आयोजना हुन्थ्यो।
गैर कानुनी रूपमा त्यहाँ बस्दा पक्राउ पर्नुभएन?
५८ घण्टा हिरासतमा परेको थिएँ। जेलमा त धेरै सेवा सुविधा हुन्छ तर हिरासत त नर्क नै हो। ती बाहेक धेरै पटक विभिन्न बहानामा फुत्किन सफल हुन्थें। एक पटक टन्न बियर बोकेर डेलिभरी गर्न जाँदै थिएँ पुलिसले भेटिहाल्यो। सो मि आइडी भन्छ। टक्क दिमागमा आइहाल्यो र भने, 'माइ फ्रेण्ड बर्थडे पार्टी टुडे, सो हि रिक्वेस्ट मि टु ब्रिङ दिस् बियर फर हिम।' यति भनेपछि उसले छाडिदियो।
अनि नेपाल कहिले फर्कनुभयो?
डिजेको काम गर्दा म अल्कोहलिक हुन पुगेँ। लाउड म्युजिकको कारण कान पनि कम सुन्ने हुँदै गएँ। चेन स्मोकर थिएँ। यी सबै कुराले गर्दा मेरो स्वास्थ्य कमजोर हुँदै गयो। हङकङ आइडी दिलाइदिन्छु बिहे गर भन्नेहरू टन्नै आएका थिए। विभिन्न कारणले वैवाहिक जीवन पनि हेल्दी नभएको जस्तो फिल भएर म फेरि दुई वर्षमा नेपाल फर्किएँ। २००८ मा हङकङ गएर २०१० मा नेपाल फर्केको हो।
नेपाल आउने बित्तिकै हलिउड फिल्ममा कसरी पुग्नुभयो त?
नेपाल फर्केपछि पत्रिकामा एउटा विज्ञापन देखेँ। हलिउड फिल्म 'मेङ्गो पिक्कल'को अडिसन रहेछ। धेरै भिड थियो त्यो अडिसनमा। स्क्रिप्ट दियो। विदेशी भए पनि नेपाली राम्रो बोल्ने निर्देशक थिए। अडिसन दिएको झन्डै एक महिनापछि फोन आयो 'यु आर सेलेक्टेड फर सर्ट रोल भिलेन'। यो सुनेर मेरो भुईँमा खुट्टै भएन। तर विडम्बना छोटो रोल भए पनि काठको मास्क लगाउनुपर्ने भूमिका रहेछ। बल्ल फिल्ममा खेल्न पाएको तर मास्क लगाएर। तीन ठाउँमा सुट थियो। सुटिङ सकिएको केही दिनमा फेरि फोन आयो। विभिन्न कारणले फुटेज काम नलाग्ने भयो, रिसुट गर्नुपर्यो।
यो पटक मेरो चल्थ्यो। मास्क नलगाई खेल्ने भए खेल्छु, नत्र खेल्दिन भनेर घुर्की लगाएँ। शरीरको ट्याटु देखेर श्रीमतीले चिन्लिन्, अरू कसैले पनि चिन्दैन। अनुहार देखाउन फिल्म खेलेको, मास्क लगाएर त खेल्दिन भनेपछि निर्देशक माने।
पहिलो पटक क्यामरा फेस गर्दा कस्तो लाग्यो त?
कुरै नगरौँ त्यो बेलाको। डाइलग पनि निकै भल्गर थियो। नराम्रो शब्द बोल्दा वरपरका मानिसले नराम्रो नजरले हेरे। पहिलो पटक क्यामरामा अभिनय गरेको त्यो पनि अपशब्द। कस्तो भयो होला आफै अनुमान लगाउनुस्।
सन् २०१० मा फिल्म खेलेर एकै पटक २०२१ मा। दोस्रो फिल्म खेल्न किन यति लामो समय लाग्नुको कारण ?
फिल्म भनेको एक जनाको मात्रै काम हैन रहेछ। फिल्म २०१० मा खिचेको, भ्वाइस डब २०१४ मा गरेको र फिल्म २०२० मा अमेजन प्राइमबाट रिलिज भएको। यसले मलाई निकै घाटा लाग्यो। यो क्षेत्र भनेको नेटवर्क फैलँदै गएर काम पाइने क्षेत्र हो। फिल्म बिचैमा रिलिज भएको भए अरूमा चान्स पाइन्थ्यो होला तर १० वर्षसम्म त्यही फिल्म प्रदर्शनको पर्खाइमा बित्यो।
पहिलो पल्टै हलिउड फिल्म खेले पनि मेरो केही लागेन। फेरि शिक्षण पेसामै फर्किए। पार्ट टाइम कल सेन्टरमा पनि काम गर्थेँ। छोरा जन्मिएपछि परिवारमा जिम्मेवारी झनै बढ्यो।
जागिरले मात्रै केही भएन। आफै पनि केही गरौँ न त भन्ने भयो। न्युरोडको विशाल मम पसल किनेँ। डस्टर र चक बोकेको मान्छे डाडु पन्युँ चलाउन थालेँ। बिस्तारै मार्केट बढिरहेको थियो, वैशाख १२ गते भूकम्प आयो। व्यापार डामाडोल भयो।
खर्च यति धेरै बढ्यो आम्दानी स्वाट्टै घट्यो।
फेरि नाकाबन्दी भयो। ग्याँसको भाउ १० हजार पुग्दा पनि ७० रुपैयाँमा मम बेच्दा कति घाटा भयो होला ? ४ रात भुँमा सुतेर ग्याँसको लाइन बसिन्थ्यो। आधा ग्याँस दिन्थ्यो। श्रीमतीले घरमा ल्याऊ भन्दा पनि पसल मेरो पहिलो प्राथमिकता थियो। त्यो ग्याँस त ह्वार्र हुन्थ्यो सकिहाल्थ्यो। ४ प्लेट मम पकाउन र १६ प्लेट मम पकाउन उत्तिकै ग्याँस खर्च हुन्थ्यो।
धेरै दुख पो पाउनु भएछ है !
अझ बाँकी छ। त्यो समयमा अहिलेजस्तो २४ घण्टा ग्याँस आउँदैनथ्यो। राती दुई बजे न्युरोड पुगेर यति ठुलो ग्रयान्डरमा अचार मिस्नुपर्ने। एक पटक त बिर्को लगाउन भुलेछु। पिरो अचार मुखभरी पर्यो।
ग्याँस किन्न नसकेपछि ३५ रुपैयाँ किलोमा दाउरा किनेर मम पकाउन थालियो।
बिहान कालो चिया खाएर निस्क्यो, कालीमाटीमा तरकारी, धनियाँ लगाएका सामान किन्यो, मासु किन्यो र पसलमा किमा बनाउन दियो। ताहाचलमा दाउरा डिपो थियो। त्यहाँ पुगेर दाउरा ल्यायो, अग्राखको दाउरा चिर्दा ट्वाङ्ग आवाज आउने। दाउरा चिरेर सक्दा एक बज्थ्यो।
नाफा केही छैन, उल्टै अचार गन्हायो, यस्तो भो उस्तो भो भन्ने कमेन्ट सुनिन्थ्यो। दसैँको बेला स्टाफ सबै घर गएका थिए। दाउरामा पकाएको कालो ठुलो डेक्ची माझ्दा आँखाबाट आशु आयो।
ममको डल्लोले जिन्दगी झनै चेप्टो बनाएको फिल भयो। म के गर्दै छु भन्ने फिल भयो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो भन्ने फिल भयो। खाली पेटका कारण फेरि बिरामी पर्नथालें। यी सबै कुराले म डिप्रेसनको लेबलमा पुगेँ। आर्थिक रूपमा निकै तल गिरेँ।
अनि ?
दिमागमा अर्को व्यापारको उपाय आयो। स्कुलमा आइसक्रिम बेच्न थालेँ। टुँडिखेलमा मेला लागेका बेलामा पनि आइस्क्रीम, गुडिया, पानी पुरी चटपटे लगायत बेच्न थालेँ।
हवाई मिठाइ बनाउने भैयाले पैसा हावामा उडिरहेका छ भन्थे। त्यही सिकेर मैले बेलुन पनि बेचेँ। तीन रुपैयाँको बेलुन, ४ रुपैयाँको डन्डा किनेँ। हावा भरेर ५० देखि ७० रुपैयाँसम्म बेचेँ। मेरो छोरालाई व्यापारी बन्यो भने एमआरपी नभएको सामानको व्यापार गर्न सिकाउँछु।
बिस्तारै हिन्दी राम्रो भएकाले बिहेको सङ्गीतमा होस्ट गर्ने मौका पाएँ। पहिलो होस्टमा ६ हजार लिएको थिएँ। अचेल दुई घण्टा होस्ट गरेको ४५ हजार लिन्छु।
ऐ मङ्गलसूत्र भि क्या अजिब चिज होति है
जो छिनते है उसे १० बरसकी कैद
और जो पहेनाताहै उन्हे उमरभरकी कैद
यत्ति भनेपछि हजारको हात्ती झरिहाल्यो। पैसा हावामा थियो। त्यसलाई टिप्न अनेक काम गर्नपर्थ्यो, लगानी लगाउनपर्थ्यो। अब त म बिना लगानी बोलेर पैसा कमाउने भएँ।
बिहे होस्ट गर्दा इन्टरटेनर, आर्टिष्ट, डान्सर मात्रै हैन, साइकोलोजिष्ट समेत बन्न पर्ने रहेछ। यसले मलाई अर्को लेबलमा पुर्यायो।
यो सबै सुन्दा म:म तपाइका लागि गतिलो पाठ भएछ है?
अँ, ममले जिन्दगी सिकायो। कोभिडको समयमा भने मैले योगालाई नजिकबाट बुझ्ने मौका पाएँ। आफूले सिकेका कुरा अरूलाई सिकाएर पैसा कमाउन सक्ने योग गुरु पनि भएँ। अरूको बन्धनमा बाँधिएर काम गर्न नपर्ने भएपछि मैले थिएटर सिकेँ, मण्डला थिएटरमा। अहिलेसम्म ३५ वर्षको मानिसलाई मात्रै सिकाएको थिएटरले ४१ वर्षको मलाई पनि सिकायो। अन्तरवार्ता दिएपछि छनौटमा परेँ म।
उनी उचाइमा कसरी छानिनुभयो त?
एउटा 'सप्राइज' भन्ने फिल्मको अडिसन थियो ठमेलमा। त्यसमा उमेरको हदबन्दी थियो। २५ देखि ३५ वर्षसम्मको कलाकार चाहिएको थियो। भाइहरू थिए। म पनि जान्छु अडिसन दिन भन्दा उनीहरूले सिनियर सिटिजनलाई छैन भनेर जिस्काउँथे।
यो बलिउड फिल्म थियो। अडिसन दिएँ, राम्रोसँग हेर्दा पनि हेरेन, आइए, अभिनय किजिए और जाइए भन्यो, वास्तै गरेन। तर त्यहाँ सुवास प्रधानसँग भेट भयो। उहाँले 'प्रतिशोध' भन्ने फिल्मका लागि ड्राइभिङ आउँछ भन्नुभयो। आउँदैन भनेको तर पनि अडिसनमा आउनु भनेर गएको भिलेनको मुख्य भूमिकामा छानियो। फरक फिल्म भए पनि उमेरको मापदण्ड नाघेरै त्यहाँ पुगेकाले मैले त्यो रोल पाएँ।
'किरियापुत्री' फिल्मको सुटिङ जारी छ। हलिउड फिल्म 'तेन्जिङ'मा पनि एप्लाइ गरिसकेँ। 'बहादुर' फिल्ममा पनि छानिएँ। यो फिल्म पनि ३५ वर्षका लागि मात्रै भनेको थियो। गएन भने छानिँदैन, तर गयो भने दुई ओटा कुरा हुन्छ, कि हुँदैन कि हुन्छ। (हाँस्दै)
अनि 'उचाइ'मा ६ फिट एक इन्चको मंगोलियन फेस चाहियो भन्ने सुनेँ। यो त मेरै लागि हो जस्तो लाग्यो र मैले मेरो बायो पठाएँ। र छानिएँ। सुरुमा बोमन इरानीको डुब्सोका लागि छानिएको थिएँ। जे भए पनि गर्नपर्छ भन्ने कुरा मैले 'रन' नामको फिल्मबाट सिकेको थिएँ। किनभने त्यो फिल्ममा विजय राजको कौवा बिरयानी निकै हिट भएको थियो। उनको त्यो छोटो रोल थियो। सानो छ भनेर नखेलेको भए उनी आज यति चर्चित हुँदैनथे।
तर पछि परिवर्तन भएर शेर्पाको रोल पाएँ। यसको कन्टिन्युटी रोलका लागि अमिताभ बच्चनकै अगाडी जाँदै छु। सबैको सपना अमिताभ बच्चनसँग फिल्म खेल्ने र मेरो सपना मुम्बई जाने एक्कैचोटी पुरा हुन लागेको छ।
मंसिर ११, २०७८ शनिबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।