आफ्नै समूहमा सर्वसम्मत गराउन अध्यक्ष ओली असफल, सरकारमा रहँदा सहभागी र बाहिर रहेकाहरूको अलग-अलग गुट

आफ्नै समूहमा सर्वसम्मत गराउन अध्यक्ष ओली असफल, सरकारमा रहँदा सहभागी र बाहिर रहेकाहरूको अलग-अलग गुट

चितवन : एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनको समय नजिकिएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओली समूहभित्रै प्रस्ट २ समूह देखिएको छ। ओली प्रधानमन्त्री सरकारमा विभिन्न पदमा रहेका र नरहेकाहरूको २ समूह प्रतिस्पर्धामा देखिएका हुन्।

यसको नेतृत्व महासचिव ईश्वर पोखरेलले गरेका छन्। पोखरेलको नेतृत्वमा शङ्कर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराईसहित ओली प्रधानमन्त्री हुँदा उनलाई सघाउने सल्लाहकार समूहका नेताहरू छन्। यो समूह वरिष्ठ उपाध्यक्ष ईश्वर र महासचिव शङ्कर पोखरेललाई बनाउनुपर्ने पक्षमा छ। प्रदीप ज्ञवालीलाई उपाध्यक्ष या उपमहासचिव तथा रिमाललाई सचिव बनाउन यो समूह लागेको छ।

यही समूहबाट पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यो समूहमा भानुभक्त ढकाल, खगराज अधिकारी, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, आनन्दप्रसाद पोखरेल, कर्ण थापासहितका नेताहरू रहेका छन्।

चुनावी प्रतिस्पर्धा हुँदा उनीहरू ‘टिम’सँग सल्लाह गरेर सचिव वा केन्द्रीय सदस्यमा आवश्यकता अनुसार उम्मेदवारी दिने योजनामा  देखिएका छन्। रामबहादुर थापालाई उपाध्यक्ष बनाउन यो समूह तयार छ। उप महासचिव र सचिवमा समेत पूर्व माओवाललाई समेट्न यो समूह राजी देखिएको छ। पार्टी अध्यक्ष ओली समेत यही समूहप्रति लोयल देखिएका छन्।

ओली समूहकै सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। ओलीले बनाएको सूचीमा नअटेका पदाधिकारीका आकाङ्क्षीहरू नेम्वाङतिर छन्। यो समूहमा महासचिवको दाबेदार विष्णु पौडेल समेत छन्। पूर्वमाओवादी समूहका नेताहरू पनि नेम्वाङ र पौडेलसँग नजिकिएका छन्। दश बुँदे सहमति गरेर आएकामध्ये अधिकांश नेता नेम्वाङ समूहप्रति नरम देखिएका छन्।

१० बुँदे समूहबाट भीम रावल अध्यक्ष, अष्टलक्ष्मी शाक्य वरिष्ठ उपाध्यक्ष, घनश्याम भुसाल उपाध्यक्ष, सुरेन्द्र पाण्डे महासचिव र योगेश भट्टराई र गोकर्ण विष्ट सचिवका आकाङ्क्षी छन्।

सचिवमा पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ, केन्द्रीय सदस्यहरू हिक्मत कार्की, वसन्त नेम्वाङ, पार्वत गुरुङ, रामेश्वर फुयाँल, कैलाश ढुङ्गेल, सुशीला नेपाल, सरेस नेपाललगायतकाले महाधिवेशनको रणनीति बनाइरहेका छन्। महेश बस्नेत पनि यो समूहमा नजिकिएका छन्।

ओली समूहका नेताहरूबिचै २ प्यानल बनेको अवस्थामा १० बुँदे पक्षका नेताहरू पनि ओलीको समर्थन नपाउने समूहसँग मिसिन सक्छन्। त्यसमा शाक्यलाई उपाध्यक्ष र पाण्डेलाई उप महासचिवमा सहमत गराउन सकिन्छ।

अध्यक्षमा रावललाई समर्थन गर्ने विषयमा भने नेम्वाङ समूहमा एकमत छैन। यदि आफ्नो पक्षकालाई पेलेर गए सर्वसम्मत हुन नदिने र सबै पदमा उम्मेदवारी दिनेबारे छलफल भइरहेको एक नेताले बताए। ' अध्यक्ष पद बाहेक अन्य पदमा सहमति हुन नसके अध्यक्ष बाहेक सबै पदाधिकारीमा उम्मेदवारी पर्न सक्छ। अध्यक्ष पदबारे भने अहिले कुनै निर्णय भएको छैन,' ती नेताले उकेरासँग भने।

मंसिर ११, २०७८ शनिबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।