एमाले महाधिवेशनमा प्रचारको फर्जी समिति, नक्कली कार्ड बाँडेको भन्दै विवाद
चितवन : एकातिर सर्वसम्मतको लफडा चर्किरहेको बेला एमालेको प्रचार विभाग अन्तर्गत हुँदै नभएको फर्जी टिम बनाएर कार्ड बाँडेको भन्दै एमाले १० औँ महाधिवेशनमा विवाद भएको छ।
एमाले महाधिवेशनको काम प्रचार कमिटीले गर्दै आएको छ। जसको संयोजक छन् योगेश भट्टराई। उनलाई समेत जानकारी नदिई सचिवमा उम्मेदवारी दिने घोषणा गरेका गोकुल बास्कोटाले आफू निकटकालाई महाधिवेशनमा परिचालन गर्न हुँदै नभएको अनलाइन तथा सामाजिक सञ्जाल टिम बनाएर कार्ड बाँडेका छन्।
कमिटीमै नभएको समूहको नाममा कार्ड बाँडिएपछि फर्जि काम भएको भन्दै कमिटीका सदस्यहरूले विरोध गरेका छन्। नेता केन्द्रित लाभका लागि फर्जी काम भएको प्रचार कमिटीका एक सदस्यले उकेरालाई बताए।
उकेराले प्राप्त गरेको कार्डमा पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षर रहे पनि महाधिवेशनका लागि डिजिटल हस्ताक्षर चलाइएको र त्यसको दुरुपयोग भएको ती सदस्यले दाबी गरे। कार्डमा प्रचार समिति राख्नु पनि फर्जी काम भएको उनको दाबी छ।
यसरी कार्ड बनाउनेहरू *प्रदीप भट्टराई, सुरेश भण्डारी, दमन ढुङ्गाना, बिन्दु घिमिरे र उमेश दुलाल लगायतका छन्। उनीहरू प्राय बास्कोटा, नवराज सिलवाल र दुर्गा प्रसाईँसँग रहने गरेका छन्।
बास्कोटाले सचिव र सिलवाल र प्रसाईँले केन्द्रीय सदस्यमा आकाङ्क्षा राखेका छन्। स्रोतका अनुसार सामाजिक सञ्जालमा पार्टीको गतिविधि सम्प्रेषण गर्न चेतन अधिकारीको संयोजकत्वमा बैठक बसे पनि समितिले पार्टीबाट आधिकारिता पाएकै थिएन।
* यस अगाडि समितिबाट कार्ड बनाउनेहरुको नाममा मनिष प्याकुरेलको नाम उल्लेख भएकोमा उनले कार्ड नबनाएको खुलेकाले सच्याइएको छ। प्रारम्भमा समितिमा उनको नाम समेत रहेको तर उनको नाम हटेको खुलेकाले समाचारमा उनको नाम पर्दा उनलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।
मंसिर ११, २०७८ शनिबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।