डा. इन्द्रकुमारको कथा: उपचार नपाएर दिदीको मृत्यु, शल्यक्रियामा व्यस्त हुँदा बुवालाई हृदयघात
डाक्टरले रोगको उपचार मात्र गर्दैनन्, दुखद् क्षणहरूको व्यवस्थापन पनि गर्छन्।
डा. इन्द्रकुमार झा वीर अस्पतालका सिनियर कन्सल्टेण्ट तथा ग्याष्ट्रो सर्जन हुन्। र उनी दुखद् क्षणहरूको व्यवस्थापन गर्ने डाक्टर पनि हुन्।
उनले आफ्नै जीवनमा भोगेका ‘बज्रपात’लाई व्यवस्थापन गरे। त्यसैको आधारमा डाक्टर भए।
के थियो बज्रपात?
२०३० सालमा रौतहटमा जन्मिएका इन्द्रकुमारको जीवनमा ६ वर्षको उमेरदेखि नै बज्रपातको श्रृङ्खला सुरु भयो।
उनका जेठा दाजुको ८ वर्षको उमेरमा दुर्घटनामा परी मृत्यु भएको थियो। बुवाआमासँग तीर्थ जाँदा बयलगाडाबाट लडेर उनका दाजुको मृत्यु भएको रहेछ।
इन्द्रले यो घटना त्यति याद छैन। तर पनि दाजु गुमाउनुको पीडाले कसलाई पोल्दैन र!
बज्रपात यतिमै रोकिँदैन। ०४५ सालमा एसएलसीको तयारी गरिरहँदा इन्द्रकी जेठी दिदीको मृत्यु भयो।
अहेब अध्ययन गरिरहेकी उनकी दिदी प्रसव पीडाले अस्पताल पनि पुर्याउन नपाइ बितिन्। बच्चाको पनि मृत्यु भयो।
घरको पहिलो सन्तान, सन्तान जन्माउने क्रममा बितिन्। त्यो घटनाले इन्द्रलाई निकै असर गर्यो। कतिसम्म भने दिदीको अन्तिम संस्कारका क्रममा नै उनले मनमनै सोचे– ‘अस्पताल पुर्याउन पाएको भए सायद दिदी बाँच्थिन् होला। अब म डाक्टर पढ्छु। त्यसपछि मेरो दिदी जसरी कसैले पनि उपचार नपाएर मर्नु पर्दैन।’
बागमती किनारमा शव जलिरह्यो। इन्द्र दिदीलाई चितामा हेर्दै मनमनै प्रतिज्ञा गरिरहे। इन्द्रले त्यस दिन अर्को पनि प्रतिज्ञा गरेका थिए– नेपालमै बसेर बिरामीको सेवा गर्ने।
मनमा डाक्टर, सपनामा डाक्टर
०४५ सालमा गाउँबाट अलि परको ‘श्री सरस्वति उच्च माध्यामिक विद्यालय’बाट एसएलसी परीक्षा उत्तीर्ण गरे इन्द्रले। एसएलसीमा ‘जिल्ला टप’ भए उनी।
उनको मनमै डाक्टर सपनामै डाक्टर थियो। त्यसैले आईएस्सी अध्ययन गर्न ‘अमृत साइन्स कलेज’ भर्ना भए। त्यसबेला राजनीतिक आन्दोलन भइरहन्थ्यो। उनको पढाइ पनि एक वर्ष लम्बियो। ०४८ सालमा आईएस्सी सकियो।
अब डाक्टर पढ्न पाउने दिन नजिक हुन थाल्यो। छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिन थाले। पहिलो पटकको परीक्षामा १÷२ नम्बर कम हुँदा छनोट हुन सकेनन्।
चिकित्सा शिक्षा अध्ययनका लागि कोटा थोरै थियो। तर इन्जिनियरिङतर्फ बढी थियो। त्यसपछि डाक्टर छाडेर इन्जिनियर पढौंकी जस्तो लाग्यो उनलाई।
त्यसैअनुसार छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनका लागि छनोट परीक्षा दिए। पास भए। तर, इन्द्रको मनले इन्जिनियरिङ पढ्न मानेन।
दिदीलाई घाटमा जलाइरहँदा गरेको प्रतिज्ञा भुल्नै सकेनन् उनले। इन्जिनियरिङ नपढ्ने निधो गरे। पुनः चिकित्सा शिक्षाकै लागि परीक्षा दिए। तर पुनः हात लाग्यो शून्य।
तर इन्द्र विचलित भएनन्। लगातार तेश्रो पटक परीक्षा दिए। यस पटक नाम निस्कियो।
तर एक पटक फेरि जीवनमा बज्रपात आइपर्यो। इन्द्र एमबीबीएस अध्ययनका लागि भर्ना गर्ने तरखरमा थिए। यता जेठा भिनाजुको झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भयो।
उनका ती भिनाजु आयुर्वेदका कविराज थिए। झापामा सरकारी जागिरे थिए। दिदीको मृत्यु भएपछि पनि इन्द्रलाई डाक्टर पढ्ने बाटो देखाउन भिनाजुले निकै मद्दत गरेका थिए।
‘मलाई डाक्टर बन्नुपर्छ भनेर प्रेरणा दिने भिनाजु पनि रहनुभएन’, उनले भावुक हुँदै सुनाए, ‘मेरो एमबीबीएसमा नाम निस्किएको भिनाजुलाई थाहा छ। तर, भर्ना भएको सुन्न पाउनु भएन।’
एमबीबीएस अध्ययन र विवाह
सन् १९९७। इन्द्र पोखराको ‘मणिपाल कलेज अफ मेडिकल साइन्सेस’मा छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि भर्ना भए।
एमबीबीएस सक्नेबित्तिकै सन् २००२ मा इन्द्रले अपराजितासँग लगनगाँठो कसे। अपराजिता पनि एमबीबीएस पासआउट थिइन्। विवाहपछि दुवैले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एक वर्ष इन्टर्नसिप गरे।
दुवैले चितवनको ‘कलेज अफ मेडिकल साइन्सेस भरतपुर’मा सन् २००३ मा एक वर्ष करार जागिरेका रूपमा काम गरे।
इन्द्रले त करिब चार वर्ष भरतपुर क्यान्सर अस्पतालमा काम गरे। उनले भरतपुरमा क्यान्सर सम्बन्धी सर्जरीमा काम गर्थे। त्यहाँ काम गर्दाको रोचक घटना सुनाए इन्द्रले।
करिब ३५ वर्षका व्यक्ति लिंगमा क्यान्सर भएर उपचार गर्न अस्पताल पुगेका रहेछन्। ती व्यक्तिका चार वटी श्रीमती रहेछन्। उनलाई भर्ना गर्दा चार वटै श्रीमती अस्पताल पुगेका थिए।
तर उपचारको क्रममा ती व्यक्तिको लिंग काट्नुपर्ने भयो। श्रीमानको लिंग काट्ने कुरा सुनेपछि सुरुमा बिरामीकी कान्छी श्रीमती श्रीमानलाई भेट्न जान छाडिन्।
क्रमशः साइँली र माइली पनि भेट्न जान छोडे। ती व्यक्तिको अवस्था भने झन्झन् खस्किँदै गयो। केही महिनापछि त जेठी श्रीमती पनि आउन छोडिन्।
अस्पताल भर्ना भएको दुई वर्षपछि ती बिरामीको मृत्यु भयो। तर उनको मृत्युको समयमा चारमध्ये एक जना श्रीमती पनि साथ थिएनन्। इन्द्रले तिनको मृत्यु पत्र बनाउने बेलामा त कोही पनि आफन्त नै भएनन्। त्यसपछि ती क्यान्सर पीडितको शव प्रहरीलाई बुझाएको इन्द्रले सुनाए।
सरकारीमा प्रवेश, गाउँमा काम
इन्द्रले सरकारी जागिरको लागि पनि प्रयास गरे। ०६३ सालमा लोकसेवा मार्फत सरकारी चिकित्सकका रूपमा उनको जागिर पनि सुरु भयो।
सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ बाराको सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। त्यहाँ उनले करिब दुई वर्ष काम गरे।
सिमराबाट सरुवा भएर उनी रौतहटको चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा करिव ६ महिना काम गरे। त्यसक्रममा उनले सीमित स्रोतका बावजुद थुप्रै बिरामीको ज्यान बचाए।
सर्जरीको रस
०६६ मा इन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छात्रवृत्ति कोटामा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। र छनोट पनि भए।
उनले ‘एमएस जनरल सर्जरी’ विषयको अध्ययन थाले। ०६९ मा अध्ययन पूरा गरे। उनले भरतपुरमा रहँदा गुरुहरूकै प्रेरणाका कारण सर्जरी विषय छनोट गरेका रहेछन्।
अध्ययनपछि भने उनको वीर अस्पतालमा नै सरुवा भयो। त्यस यता इन्द्र ०६९ देखि निरन्तर वीर अस्पतालमा नै कार्यरत छन्।
बज्रपातको श्रृङ्खलामा ज्वाइँको मृत्यु
एमएस जनरल सर्जरी उत्तीर्ण गरेको खुशी आनन्दले बाँड्न नपाउँदै उनको जीवनमा अर्को बज्रपात भयो। ०६९ मा इन्द्र वीर अस्पतालमा मेडिकल अधिकृतका रूपमा सर्जरी विभागमा काम गरिरहेका थिए।
त्यही समयमा उनका बहिनीज्वाइँको मृत्यु भयो।
सर्लाहीका उनका ज्वाइँलाई ज्वरो आएको थियो। स्वास्थ्य अवस्था खराब हुँदै गएपछि इन्द्रले नै ज्वाइँलाई काठमाडौं बोलाए।
ज्वाइँलाई वीर अस्पतालमा भर्ना गरियो। तर जति नै उपचार गरे पनि ज्वाइँको स्वास्थ्य अवस्थामा सुधार आएन। आफैं खटेर अथक प्रयास गर्दा पनि इन्द्रले ज्वाइँलाई बचाउन सकेनन्।
‘ज्वाइँलाई वीरको आईसीयूमा राखियो। तर, अस्पताल भर्ना गरेपछि ४८ घण्टाभन्दा बढी बचाउन सकिएन’, उनले भने।
आफैं चिकित्सक भएर पनि ज्वाइँलाई बचाउन नसकेको त्यो क्षण सम्झँदा भने अहिले पनि उनलाई ग्लानि हुन्छ। ज्वाइँको मृत्युपछि ती बहिनी र भान्जाभान्जीको संरक्षणको जिम्मेवारी पनि इन्द्रकै काँधमा आयो।
तनाव छिचोल्दै पेशा र अध्ययन
पारिवारिक पीडालाई सक्दो व्यवस्थापन गर्दै इन्द्रले अध्ययन र तालिमलाई निरन्तरता दिइरहे।
इन्द्र ०७० सालमा मेडिकल अधिकृतबाट बढुवा भएर कन्सल्टेण्ट सर्जन भए। उनले वीर अस्पतालमा जनरल सर्जरी–१को युनिट प्रमुखका रूपमा चार वर्ष काम गरे।
०७३ मा उनी फेरि बढुवा भएर ‘सिनियर कन्सल्टेण्ट’का रूपमा वीर अस्पतालमा कार्यरत छन्।
उनको विशिष्ठ डिग्री हासिल गर्ने धोको मरेको थिएन। त्यसैले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट नै इन्द्रले डिएम एमसीएच (सर्जिकल ग्याष्ट्रो इन्ट्रोलोजी) विषयको अध्ययन गरे।
महिलाको शल्यक्रिया गरिरहँदा बुवालाई हृदयघात
०७४ सालमा उनको परिवारमा फेरि अर्को बज्रपात पर्यो।
त्यस बेला वीरमा जुम्लाकी ५६ वर्षीया महिला कलेजोमा पानी जमेको रोगको उपचारको लागि आएकी थिइन्। पानीको फोका यति ठूलो थियो कि सुरुमा त चिकित्सकहरू शल्यक्रिया गर्ने कि नगर्ने द्विविधामा थिए।
‘सिनियर डाक्टरसा'बहरूले समेत यो बिरामी छुनुभयो भने टेबलमा नै मर्छ। नछुनुहोस भन्नुभएको थियो’, इन्द्रले भने। तर, इन्द्रलाई लाग्यो– शल्यक्रिया गर्ने आँट नगरे त यसै ज्यान जान्छ। त्यसैले उनले शल्यक्रिया गर्ने निर्णय लिए।
पछि सिनियर चिकित्सकहरू पनि उनको निर्णयप्रति सहमत भए। इन्द्र महिलाको शल्यक्रिया गर्न मोवाइल घर्रामा राखेर अपरेशन थिएटरमा छिरे।
दिउँसो १ बजेबाट थालेको शल्यक्रिया सक्दा साँझको ५ नै बजेको थियो। तर भाग्यवश महिलाको शल्यक्रियामा सफलता मिल्यो।
शल्यक्रिया सफल भएको खुशी साट्दै उनी अप्रेशन थिएटरबाट बाहिर निस्किए। घर्राबाट निकालेर मोवाइल हेरे। उनलाई एकछिन त विश्वास नै भएन। शल्यक्रिया अवधिभर इन्द्रको घरपरिवारबाट सय पटकभन्दा बढी फोन आएछ।
हत्त न पत्त उनले घरमा फोन घुमाए। थाहा भयो– बुवालाई हृदयघात भएको रहेछ।
इन्द्रसँग सम्पर्क हुन नसकेपछि उनकी श्रीमतीले बुवाको ईसीजी गर्न लगाएकी रहिछन्। बुवाको ईसीजी रिपोर्ट हेरेपछि त इन्द्र आफैं अर्धचेतन अवस्थामा पुगे। ‘बुवाको ईसीजी रिपोर्ट हेर्दा त म आफैं बेहोश भएँ’, इन्द्रले भने।
रिपोर्ट हेरेपछि थाहा पाए– बुवालाई जटिल हृदयघात भएको थियो।
छोरा चिकित्सक भएकाले छोराको सल्लाहबिना बुवा काठमाडौं आउन पनि मानेका रहेनछन्। तर, रिपोर्ट हेरेपछि अतालिँदै रौतहटस्थित घरमा भएका बुवालाई तुरुन्तै एम्बुलेन्सबाट इन्द्रले काठमाडौं बोलाए।
दुई बजे राति बुवा काठमाडौं आइपुगे। राति नै गंगालाल अस्पताल भर्ना गरे। अरू चिकित्सकसँगै उनी पनि बुवाको उपचारमा खटिए।
तर, हजारौं बिरामीलाई बचाएका इन्द्रले आफ्नै बुवालाई भने बचाउन सकेनन्। अस्पताल भर्ना भएको ४८ घण्टा पनि नबित्दै ६९ वर्षीय इन्द्रका बुवा बिते।
बुवाको मृत्युको घटना सम्झँदा इन्द्रलाई लाग्छ– ‘छिटै उपचार गर्न पाएको भए सायद बुवा बाँच्नुहुन्थ्यो। आफैं डाक्टर भएर पनि बुवालाई बचाउन सकिनँ।’
उनी बुवाको अन्तिम संस्कारका लागि गाउँतर्फ लागे। अन्तिम संस्कार सकेर १५ दिनपछि वीर अस्पताल फर्किए। तर अस्पताल फर्किनासाथ उनले कलेजोमा पानी जमेको महिलाको स्वास्थ्यमा सुधार भइरहेको देखे।
आफ्नो ज्यान बचाउने डाक्टरलाई देखेर ती महिला मुस्कुराइन्। बुवालाई बचाउन नसके पनि ती महिलालाई बचाउन सकेकोमा उनका आँखाबाट खुशीका आँसु तप्क्क खसे।
रुमाल निकाले। आँसु पुछे। र ती महिलातिर हेर्दै मुसुक्क हास्दै गए।
कार्यकक्ष आएर सोचे– ‘बुवा त बचाउन सकिनँ। तर, एक जना माया मारिएकी बिरामी बचाएँ। यही नै हो मेरो चिकित्सकीय धर्म। धन्य होस्!’
शल्यक्रिया गर्दागर्दै भूकम्प
०७२ सालको बैशाख २९ गतेको भूकम्पमा इन्द्र ४५ वर्षीया महिलाको स्तन क्यान्सरको शल्यक्रिया गरिरहेका थिए। ट्रमा सेन्टरमा शल्यक्रिया गरिरहेको अवस्थामा भूकम्प जाँदा अस्पतालमा भागदौड मच्चियो।
तर, इन्द्रको टीमले भने शल्यक्रिया रोकेन। महिलाको शल्यक्रिया सफल भएपछि मात्रै उनको टीम अप्रेशन थियटरबाट बाहिर निस्कियो। यो क्षण उनलाई साह्रै याद आइरहन्छ।
मंसिर ११, २०७८ शनिबार १४:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।