सर्वसम्मत गर्छु भन्ने ओली समूहमै इश्वर-शंकर, सुवास-विष्णु प्यानल, ब्याक हुन अस्वीकार

सर्वसम्मत गर्छु भन्ने ओली समूहमै इश्वर-शंकर, सुवास-विष्णु प्यानल, ब्याक हुन अस्वीकार

चितवन : १० औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्ने दाबी गर्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै प्यानलका आकाङ्क्षी व्यवस्थापन गर्न समस्या परेको छ। 

आफ्नो समूहबाट अध्यक्षका कुनै उम्मेदवार ननिस्किए पनि त्यो भन्दा तलको पदहरूमा भने ओली समूहभित्रै २ वटा प्यानल देखिएका छन्। ओलीको इच्छाअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल अडिएका छन्। तर सुवास नेम्वाङले पनि दावेदारी छाडेका छैनन्। 

उनलाई अनुशासन आयोगको अध्यक्षदेखि भावी राष्ट्रपतीसम्मको प्रस्ताव दिए पनि उनी मानेका छैनन्। वरिष्ठमा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले पनि इच्छा देखाएका थिए। तर दुवै मौन देखिएका छन्। 

उपाध्यक्षको सङ्ख्या बढाएकाले ओलीलाई सकस छैन। उप-महासचिवको पद बढाएकाले आकाङ्क्षीबिच सहमति गराउन समस्या देखिएको छैन। 

तर महासचिवमा उस्तै समस्या देखिएको छ। ओली शङ्कर पोखरेललाई महासचिव बनाउने पक्षमा देखिएका छन्। तर विष्णु पौडेल उपाध्यक्ष हुन राजी भएका छैनन्। सहमति नभए ओलीभित्रै ईश्वर-शंकर र सुवास-विष्णुको प्यानल बनेर पदाधिकारीमा उम्मेदवारी दिने जोखिम बढेको छ। 

सहमति गर्न नसके सबै पदमा प्यानल बन्ने जोखिम भएकाले ओली आफ्नो समूहमा सर्वसम्मत गर्न प्रयासरत छन्। 

ओली निकट एक नेताले नाम उल्लेख नगर्ने सर्तमा सबै आकाङ्क्षीले दाबी छोडिसकेको बताए। 'ओली जीले लिस्ट ल्याउँदै हुनुहुन्छ। यो पद, त्यो पद भन्ने भएन। कुनै पदमा दाबी भन्ने भएन,' ती नेताले भने' १० लाखको हाराहारीमा कार्यकर्ता भेला भएका छन्। ओलीको नेतृत्वमा संवृद्धि सम्भव छ। अध्यक्षज्यूले जे घोषणा गर्नुहुन्छ त्यसलाई मानेर जाने हो।' 

उता भीम रावल अध्यक्षमा उम्मेदवारी दिने अडानमै छन्। उनले आफ्नै सचिवालय बनाएर महाधिवेशन प्रतिनिधिसँग सम्पर्क गरिरहेका छन्। उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने तयारी गरेका छन्।

मंसिर ११, २०७८ शनिबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।