सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

सूर्यविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरः शनिबार बिहान सूर्यविनायक नगरपालिका–८ आदर्श चोकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। तीव्र गतिमा आएको टिपरले ठक्कर दिँदा स्कुरटरमै सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन्।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७प ३११३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय असीम लिम्बूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनलाई बिएण्डबी अस्पताल पठाइएको छ।

दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले राधेराधेबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

मंसिर ११, २०७८ शनिबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।