एमालेमा आकांक्षी नै आकांक्षी, कुन पदमा कसको सम्भावना ?
चितवनः नेकपा एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी सङ्ख्या थप्ने निर्णय गर्यो। जसअनुसार केन्द्रीय कमिटी ३०१, पोलिट्ब्युरो ९९, स्थायी कमिटी ४५, पदाधिकारी (सचिवालय) १९, सचिव ७, उपमहासचिव ३, महासचिव १, उपाध्यक्ष ६, वरिष्ठ उपाध्यक्षमा १ र अध्यक्षमा १ जना रहने प्रस्ताव गरियो।
विधान महाधिवेशनले स्वीकृत गरेको उपाध्यक्ष सङ्ख्या ४ बाट बढाएर ६ पुर्याइयो। उपमहासचिव १ बाट बढाएर ३ पुर्याइयो। केन्द्रीय कमिटी २२५ बाट ३०१ पुर्याइयो।
यसले प्रष्ट सन्देश दियो- महाधिवेशनको उद्घाटन सत्रमा विधि विधान र पार्टीभित्रको सुशासन कस्तो हुन्छ अरू दललाई देखाइदिने उद्घोष गरेका ओलीलाई आफ्नै समूहमा नेता व्यवस्थापन गर्न भने सजिलो रहेनछ।
संस्थापनभित्र महासचिव ईश्वर पोखरेलको नेतृत्वमा शंकर पोखरेल, विष्णु रिमाल, डा. राजन भट्टराईसहित ओली प्रधानमन्त्री हुँदा उनलाई सघाउने सल्लाहकार समूहका नेताहरू छन्। यो समूहले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई बनाउनुपर्ने पक्षमा छ।
यस्तै प्रदीप ज्ञवालीलाई उपाध्यक्ष या उपमहासचिव तथा रिमाललाई सचिव बनाउन यो समूहको माग छ।
त्यस्तै, यही समूहबाट पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यो समूहमा भानुभक्त ढकाल, खगराज अधिकारी, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, आनन्दप्रसाद पोखरेल, कर्ण थापासहितका नेताहरू रहेका छन्।
चुनावी प्रतिस्पर्धाहुँदा उनीहरू ‘टीम’सँग सल्लाह गरेर सचिव वा केन्द्रीय सदस्यमा आवश्यकता अनुसार उम्मेदवारी दिने योजनामा छन्। रामबहादुर थापालाई उपाध्यक्ष बनाउन यो समूह तयार छ। वरिष्ठ उपाध्यक्षको आकांक्षी थापालाई प्रतिनिधि सभामा जिताउने सर्तमा उपाध्यक्षमा मनाउन पनि यो समूह सफल भयो।
यता वरिष्ठ उपाध्यक्षमै सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल लगायतको समूह छ। नेता थापा तटस्थ रहे पनि पूर्वमाओवादी समूहका बाँकी नेताहरू भने नेम्वाङ र पौडेलसँग नजिकिएका छन्। त्यस्तै, १० बुँदे सहमति गरेर आएकामध्ये अधिकांश नेता पनि यो समूहसँग छलफलमा छ।
यो समूहमा सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ, केन्द्रीय सदस्यहरू हिक्मत कार्की, वसन्त नेम्वाङ, पार्वत गुरुङ, रामेश्वर फुँयाल, कैलाश ढुंगेल, सुशीला नेपाल, सरेश नेपाल लगायतकाले महाधिवेशनको रणनीति बनाएका छन्। यही समूहमा महासचिव ईश्वर पोखरेलको लागि विधानमै वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरेको र पार्टीमा अध्यक्ष ओलीको उत्तराधिकारी बन्न खोजेको बुझाइ छ।
ओलीका खास पात्र महेश बस्नेत पनि यो समूहमा नजिकिएका छन्। गोकुल बास्कोटा र महेश बस्नेत पदाधिकारीका आकांक्षी हुन्। त्यसैकारण ओलीलाई कसले रिझाउने र को पार्टीको शक्ति केन्द्रमा रहने भन्ने प्रतिस्पर्धा छ।
अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, राम बहादुर थापा, रघुजी पन्त, घनश्याम भुसाल, लालबाबु पण्डित, सुवास नेम्बाङ, किरण गुरुङको पनि आआफ्नै दावी छन्।
वरिष्ठ उपाध्यक्षको अपेक्षा गरेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई सकेसम्म बाहिर व्यवस्थापन गर्नेगरी मनाउने कोसिस छ। उनलाई एमालेले भविष्यमा प्राप्त गर्नसक्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदमा सिफारिस गर्नेगरी मनाउने प्रयास ओलीले गर्ने बताइएको छ। त्यसमा नेम्वाङ राजी हुने ओलीनिकट नेताहरूको बुझाइ छ।
'वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल रहेर नेम्वाङलाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रयास पनि जारी नै छ' एक नेताले उकेरासँग भने, 'महासचिवमा शंकर पोखरेल हुनुहुन्छ, विष्णु पौडेल उपाध्यक्षमा जानुहुन्छ।'
यता उपमहासचिवमा प्रदीप ज्ञवाली पक्कापक्की जस्तै छन्। अन्य दुई पदमध्ये एकमा गोकर्ण विष्टको सम्भावना प्रवल छ। अर्का उपमहासचिव पूर्वमाओवादी समूहलाई दिने हो भने लेखराज भट्ट र टोपबहादुर रायमाझीमध्ये एक हुनेछन्।
महासचिवमै उठ्ने दावी गरेका पृथ्वीसुब्बा गुरुङ र उपमहासचिवको दावी गरिरहेकी बिन्दा पाण्डेमध्ये एक उपमहासचिवमा व्यवस्थापन हुनेछन्। महिला कोटाबाट पाण्डेको सम्भावना पनि प्रवल छ।
सचिव पदमा समावेशी बनाउने प्रयास चलिरहेको छ। महिलाहरू कम्तीमा दुई जना समेट्न चर्को लबिङ छ। त्यसो हुँदा शिवमाया तुम्वाहाङ्फे, बिन्दा पाण्डे र पद्मा अर्यालमध्येबाट छनोट हुनेछन्।
'सहमतिकै लागि पदाधिकारी थपेका हौं। त्यसकै आधारमा सहमति हुन्छ', एमाले नेता सूर्य थापाले उकेरासँग भने। केन्द्रीय सदस्यमा १०० जना नयाँ अनुहार आउने समेत उनको भनाइ छ।
यता अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलको विषयमा उनीनिकट नेता भन्छन्- 'उहाँले कुनै हालतमा उम्मेदवारी फिर्ता लिनुहुन्न। अहिलेसम्म फिर्ताको बारेमा सोचिएको छैन।'
मंसिर ११, २०७८ शनिबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।