नेपाल प्रहरीमा इन्स्पेक्टरसहित विभिन्न पदमा जागिरको अवसर
काठमाडौंः नेपाल प्रहरीको विभिन्न रिक्त पदहरूमा जागिरको अवसर खुलेको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी निरीक्षक पदका लागि १ सय ४६ जना, प्रहरी जवान पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जनाका लागि हाल दरखास्त आह्वान गरिएको हो।
प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ।
इच्छुकले मंसिर १९ गतेदेखि पुस २३ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरणसहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।
मंसिर ११, २०७८ शनिबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।