झलनाथ र बामदेवलाई पनि सम्झिएनन् ओलीले

झलनाथ र बामदेवलाई पनि सम्झिएनन् ओलीले

एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा सम्बोधन गर्दै चितवनमा पार्टीको महाधिवेशन हुने बोल्दिएपछि छोटै समयमा एमाले जिल्ला कमिटी चितवनले महाधिवेशनको तयारी गरेको थियो। 

चितवन जिल्ला कमिटीको तयारीमा नारायणी नदी किनार एमाले महाधिवेशनले रङ्गिएको छ। महाधिवेशनको भव्य उद्घाटन समेत भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणी नदी किनारमा बनाइएको मञ्चबाटै सम्बोधन गरे।

विभिन्न दलका नेताहरूले महाधिवेशन स्थल पुगेर शुभकामना दिएका छन्। तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने महाधिवेशनमा गएनन्। उनले लीलामणि पाेखरेललाई एमाले महाधिवेशनको शुभकामना सन्देश दिन पठाए। 

एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालको दललाई एमालेले निम्तो नै गरेन। बुटवलमा भएको एमालेको नवौँ महाधिवेशनका नेपाल मात्रै होइन, झलनाथ खनाल र बामदेव गौतम चितवनमा भएको १० औँ महाधिवेशन उद्घाटन सत्रको मञ्चमा देखिएनन्। 

नेपाल, खनाल र गौतमको उपस्थिति बिना केपी ओलीले महाधिवेशनको उद्घाटन गरे। उनले अब पार्टी महाधिवेशनको बन्द सत्र सुरु हुने बताए। नेतृत्व चयन सर्वसम्मत गराउने प्रयास हुने ओलीले बताए। 

ओलीको सम्बोधनसँगै उद्घाटन सत्र सकिएको छ। एमालेले पार्टीको ११ औँ महाधिवेशन पनि तीन ठाउँ मध्ये एक ठाउँमा गर्ने घोषणा गरेको छ।

विराटनगर, धनगढी र पोखरा मध्ये एक ठाउँमा पार्टीको ११ औँ महाधिवेशन हुने १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एमालेले जानकारी दिएको छ। 

मंसिर १०, २०७८ शुक्रबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।