जनगणनाका सुपरिवेक्षककाे हृदयाघातका कारण मृत्यु , गणक भिरबाट लडेर मरे
विभागले पत्रकार सम्मेलन गरेर जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका क्रममा तीन जनाको मृत्यु भएको जानकारी दिएको हो।
रसुवामा एक जना गणकले आत्महत्या गरेका विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार धादिङमा तथ्याङ्क सङ्कलनका क्रममा एक जना गणकको भिरबाट लडेर मृत्यु भएको छ।
यस्तै चार जना गणकलाई कुकुरले टोकेको र २ जना गणकको खुट्टा भाँचिएको श्रेष्ठले बताए।
केही गणकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको विभागले जनाएको छ । जनगणनाका लागि खटिएका मृतक सुपरिवेक्षक र गणकका परिवारले बिमा बापतको ५ लाख रुपैयाँ पाउने विभागले जनाएको छ। सरकारले थप राहत रकम उपलब्ध गराउने बताएको विभागले कति हो भन्ने जानकारी दिएन।
‘उनीहरूका लागि सरकारको तर्फबाट बिमा गरिएको र क्षतिपूर्तिको व्यवस्था बमोजिमको सहजीकरणको कार्य भइरहेको छ’ विभागका महानिर्देशक श्रेष्ठले भने।
उनले कतिपय घर परिवारको तथ्याङ्क लिन अहिले पनि नसकिएको बताए। ‘बिहान, दिउँसो र बेलुका गणक पुग्दा घरमा कोही नभेटिएर गणना हुन सकेको छैन,’श्रेष्ठले भने,‘छुटपुट भएकाको तथ्याङ्क अहिले पनि लिइरहेका छौँ।’
विभागले कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना २०७८ सञ्चालन गरेको थियो। अहिले गणनामा छुटेकाहरूको अब १० वर्ष गणना नहुने श्रेष्ठले बताए। उनले सडकमा बेवारिसे बसेकाहरूको समेत तथ्याङ्क सङ्कलन गरेको बताए।
कालापानी, लिपुलेक र लिम्पियाधुरा पुग्न भारतीय बाटो प्रयोग गर्नु पर्ने र भारतले अनुमति नदिँदा तिंकर र छाङ्गरुमा गणकहरू पैदल नै हिँडेर गएको श्रेष्ठले बताए। ‘तपाईँहरूलाई थाहा छदैछ, नेपालको भूमिमा जान भारतीय धार्चुलाको बाटो प्रयोग गर्नुपर्छ,’महानिर्देशक श्रेष्ठले भने,‘तीन चार दिन रुखको हाँगा समाउँदै भिरमा पाइला बनाउँदै तिंकर र छाङ्गरु पुगेका गणकहरूलाई बिहीबार सेनाको हेलिकप्टरबाट खलङ्गा ल्याइएको छ।’
घर परिवारको तथ्याङ्क लिँदा भारतीय पक्षले बाटो प्रयोग गर्न अनुमति दिए पनि मूल गणनाका गणकलाई बाटो प्रयोग गर्न अनुमति नदिएको श्रेष्ठले बताए।
उनले १० वर्षपछि भएको जनगणनामा अन्य लैङ्गिक पहिचान भएकाको तथ्याङ्क नलिएको बताए। ‘जन्मँदै महिला र पुरुष भएकाहरूको तथ्याङ्क लिएका छौँ,’उनले भने,‘पछि व्यवहार परिवर्तन भएकाहरूको तथ्याङ्क नआउने भएकाले लिएनौ।’
मंसिर १०, २०७८ शुक्रबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।