गच्छदारको क्षेत्रमा सहमतिको लिस्ट तयार पारेर नाम मात्रको निर्वाचन

केन्द्रीय उपसभापति विजयकुमार गच्छदारको दबावमा रोकिएको निर्वाचन कार्यक्रम शुक्रबार दिउँसो १२ बजेबाट सुरु भएको हो। १० बजे सुरु हुने भनिएको निर्वाचन प्राविधिक कमजोरी देखाउँदै ढिला गरी सुरु भएको हो।
गच्छदारनिकट उम्मेदवार पराजित हुने भएपछि बारम्बार निर्वाचन कार्यतालिका प्रभावित हुँदै आएको थियो। हाल दुवैतर्फबाट सहमतिको लिस्ट तयार पारेर निर्वाचन प्रकृया सुरु गरिएको छ। सहमतिमा भएका उम्मेदवारलाई विजयी गराउने गरी तयारी अगाडि बढाइएको छ।
यसअघि पनि ७ गते हुने भनिएको अधिवेशन सहमतिको लागी भन्दै ८ गते सारिएको थियो। ८ गते कुनै सहमति नभएपछि ९ गते बिहान ९ बजेदेखि निर्वाचन हुने निर्वाचन समितिले सूचना प्रकाशित गरेको थियो।
यी हुन् महाधिवेशन प्रतिनिधिमा सहमति भएको नाम
महाधिवेशन प्रतिनिधिमा खुला १० जनाको लागि अगमलाल चौधरी, कुमारजंग थापा, डिल्लीराम दाहाल, ज्योती कोइराला, वेदनारायण गच्छदार, महेश प्रसाद वास्तोला, महेश दत्त, रघुनन्दन चौधरी, रोहित प्रसाद प्रसाई, रेशमलाल चौधरी रहेका छन्।
त्यस्तै मधेसी खुलामा सपनकुमार दासको नाममा सहमति जुटेको छ। दलित खुलातर्फ कृष्ण कुमारी विश्वकर्मा, थारु महिलामा सुनिता गच्छदार, मुस्लिम खुलामा गुलाबी मियाँको नाममा सहमति भएको हो।
महिला खुलातर्फ गोमा पराजुली, दिलमाया डाँगी, विमला कुमारी श्रेष्ठ र सीता भुसाल छन्। खस आर्यमा शिव प्रसाद दंगालको नाममा सहमति जुटेको छ। आदिवासी महिलामा पंक्षी वाईवा र मधेसी महिलामा सुनिदा दाहाल(शाह)को नाम सहमतिको लिस्टमा समावेश गरिएको छ।
सो सहमतिको लिस्टमा नपरेका र चुनावमा जित्ने सम्भावना भएका उम्मेदवारहरूले भने विरोध जनाएका छन्।
गच्छदारले भने क्षेत्रीय सभापतिमा संस्थापन इतर पक्षका मेहेदी हुसेनको नाममा सहमति गरेका छन्। हुसेनलाई सभापति बनाएर अधिकतम महाधिवेशन प्रतिनिधि उनले लिएका छन्।
निर्वाचन भए पराजित हुने अनुहारहरू सहमतिको लिस्टमा समावेश गरिएको छ। अघिल्ला अधिवेशनमा पराजित भएका र पार्टी संगठनमा नलागेका पुराना नेताहरूलाई अटाउन कोसिस गरेका छन्।
मंसिर १०, २०७८ शुक्रबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।