झापा कांग्रेसः सिटौलालाई साख जोगाउनै सकस  

झापा कांग्रेसः सिटौलालाई साख जोगाउनै सकस  

इटहरीः नेपाली कांग्रेस झापामा प्रभुत्व कायम राखेका पार्टीका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाको गढ भत्किने सम्भावना बढेको छ। महामन्त्री दावी गर्दै आएका विश्वप्रकाश शर्माले सिटौलालाई चुनौती दिएपछि उनलाई साख जोगाउन सकस भएको छ।

१४औं महाधिवेशनमा सिटौला पक्षका हालका उपसभापति रामबहादुर कट्टेल सिटौलालाई छाडेर शर्मा पक्षमा लागेका छन्। शर्माले कट्टेललाई जसरी पनि जिल्ला सभापति बनाउने गरी अभियान अगाडि बढाएका छन्।

‘म रामबहादुर कट्टेललाई भोट हाल्छु’ भन्ने अभियान चलाएर शर्माले चुनावी प्रचार गरिरहेका छन्। 

सिटौला पक्षले भने पूर्वउपसभापति देउमान थेवेलाई अगाडि बढाएको छ। १३औं अधिवेशनमा पनि सभापतिको उम्मेदवार भएका उनलाई १४औं महाधिवेशनमा सर्वसम्मत सभापति बनाउने मौखिक सहमति भएको थियो। तर कट्टेलले उम्मेदवारी दिएपछि थेवे सर्वसम्मत नहुने भएका छन्।

निर्वाचनमार्फत नै नेतृत्त्व चयन गर्नुपर्ने अवस्था आएपछि सिटौला पक्ष तनावमा परेको छ। कट्टेल झापाका लोकप्रिय नेता हुन्। यसअघि सिटौला प्यानलमा रुष्ट देखिएका युवा नेताहरू कट्टेलको समर्थनमा खुलेका छन्।

सिटौलाको एकलौटी भएको भन्दै विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। 

उता थेवेले आफूलाई १४औं महाधिवेशनमा सर्वसम्मत सभापति दिने भएपछि छाडेको बताउँदै आएका छन्। आफूले सर्वसम्मत नेतृत्त्व पाउनुपर्ने उनले बताए। पछिल्लो समय कट्टेलको प्रभाव बढ्दै गएपछि थेवे समूह समस्यामा परेको हो। 

यसअघि निकै कमजोर मानिएको शर्मा टीम अहिले बलियो भएको छ। शर्माले केन्द्रीय महामन्त्रीको उम्मेदवारी घोषणा गर्न झापाको विर्तामोडमा आयोजना गरको कार्यक्रममा कट्टेलले सभापतिको लागि भोट मागेका थिए। शर्माले पनि कट्टेल जस्तो इमान्दार र कर्मठ नेतालाई विजयी गराए झापा कांग्रेस मजबुत हुने भन्दै समर्थन गरेका थिए।  

थेवेलाई पुराना कांग्रेसी नेताको साथ रहेकाले उनी बलियो उम्मेदवारको रूपमा देखिएका छन्। शर्माको आलोचना गर्दै आएका कांग्रेसीहरूले थेवेको विकल्प नभएको बताएका छन्। थेवेको पक्षमा सिटौलासहित पुर्व केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, झापा सभापति थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्वसभापति सुधीरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला छन्। 

उता कट्टेलको पक्षमा शर्मा सहित सांसद महिन्द्रा कुमारी लिम्बू, पूर्वसांसद उषा गुरुङ, जिल्ला सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल लगायत छन्। 

मंसिर १०, २०७८ शुक्रबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।