एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट

एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट

काठमाडौंः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। चितवनको नारायणी नदी किनारमा आज दिउँसो १२ बजे महाधिवेशन उद्घाटन हुँदैछ।

महाधिवेशनका लागि हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका विभिन्न केन्द्रीय नेताहरू चितवन पुगिसकेका छन्। यस्तै विभिन्न क्षेत्रबाट महाधिवेशन प्रतिनिधि पनि चितवन पुगिसकेका छन्।  

१०औं महाधिवेशनअन्तर्गत बन्दसत्र भने शनिबार र आइतबार हुनेछ। सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र हुने एमालेले जनाएको छ।

महाधिवेशनले एमालेको नयाँ नेतृत्त्व चयन गर्नेछ। यसअघि नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका केपी शर्मा ओली पुनः नेतृत्त्वमा दोहोरिन चाहेका छन्। यद्यपि, नवौं महाधिवेशनबाटै उपाध्यक्ष चुनिएका भीम रावलले यसपटक आफ्नो उम्मेदवारी घोषणा गरेसँगै  ओलीले सहजै नेतृत्त्व नपाउने भएका छन्। 

विभिन्न क्षेत्रबाट आएका जुलुस महाधिवेशनस्थल नारायणी किनारमा पुगेर सभामा परिणत हुने र महाधिवेशन उद्घाटन हुने एमालेले जनाएको छ। यस्तै आज उद्घाटन सत्रमा झण्डै पाँच लाख मानिस सहभागी हुने एमालेको दावी छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

मंसिर १०, २०७८ शुक्रबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।