बार पदाधिकारीले बल्ल पाए प्रधानमन्त्री देउवालाई भेट्ने समय

बार पदाधिकारीले बल्ल पाए प्रधानमन्त्री देउवालाई भेट्ने समय

काठमाडौँ : नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई न्यायालयको समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउने भएको छ।

प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउने समय मागेको बार एसोसिएसनले भोलि शुक्रबार बिहान साढे १० बजे ध्यानाकर्षण पत्र बुझाउने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। 

‘प्रधानमन्त्री देउवासँग भेटघाटको समय मागिरहेका थियौ,’श्रेष्ठले उकेरासँग भने,‘भोलि बिहान भेट्ने समय दिनुभएको छ।’ श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बर्हिगमन  र राजीनामा गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने बताए। 

प्रधानमन्त्री देउवालाई भेट्न बारका पदाधिकारी, पूर्व पदाधिकारी र सल्लाहकारहरू जाने तयारी रहेको उनले बताए। बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा र सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेर कार्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ। 

अध्यक्ष श्रेष्ठले शुक्रबार पनि बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशविरुद्ध धर्ना दिने कार्यक्रम रहेको बताए। बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशविरुद्ध रामशाह पथदेखि बालुवाटारसम्म न्याय मार्च पास गरेको थियो। 

राणाविरुद्ध भद्र आन्दोलन थालेका न्यायाधीशहरू भने गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू हुनेभएपछि नियमित इजलासमा बस्न थालेका छन्।

बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठकले राजपत्रमा प्रकाशित सर्वोच्चको नियमावली पारित गर्दै मङ्सिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ। 

मंसिर ९, २०७८ बिहीबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।