कांग्रेस सभापतिका उम्मेदवार निधिको योजना : जय नेपाल गुनासो सेवा सुरु गर्छु 

कांग्रेस सभापतिका उम्मेदवार निधिको योजना : जय नेपाल गुनासो सेवा सुरु गर्छु 

काठमाडौँमा पत्रकार सम्मेलन गरेर निधिले सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्। सभापतिमा उम्मेदवारी घोषणा गर्दै निधिले जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने बताए। 

पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पिरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने निधिले योजना सुनाए। 

निधिले तीन वटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन पार्टी सभापतिमा उम्मेदवारी दिन लागेको सुनाए। नेपाली कांग्रेसमा रूपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने निधिको योजना छ। 

जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारु, खसआर्य, अल्पसङ्ख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउने र समुदायकाबीच थप सद्भाव कायम गर्ने निधिले बताए। 

उनले हिमाल, पहाड, तराई–मधेसमा बसोबास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली कांग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिङ्गो पार्टीपंक्तिलाई परिचालन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

नेपाली कांग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने योजना रहेको निधिले सुनाए।

मंसिर ९, २०७८ बिहीबार २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।