गच्छदारको दबाबमा रोकियाे सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन 

गच्छदारको दबाबमा रोकियाे सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन 

आफू निकट उम्मेदवार हार्ने भएपछि बारम्बार निर्वाचन कार्यतालिका प्रभावित पारेका गच्छदारको निर्देशनमा निर्वाचन समितिले अधिवेशन स्थगित गरेको हो।

७ गते हुने भनिएको अधिवेशन सहमतिका लागि भन्दै ८ गते सारिएको थियो। ८ गते कुनै सहमति नभएपछि आज बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने निर्वाचन समितिले सूचना प्रकाशित गरेको थियो। बिहानै मतदान स्थल पुगेका कार्यकर्ता १२ बजेसम्म पनि मतदान गर्न नपाएपछि ‘टिकेप्रथा मुर्दावाद, कोठे सहमति मान्दैनौ’ भन्दै आन्दोलनमा उत्रिए। 

कोठामा सहमति गरेर नाम मात्रको निर्वाचन गर्ने र लिस्टमा भोट हाल्न लगाउने प्रवृत्ति विरुद्ध आवाज उठाएको क्षेत्रीय सचिव पदका उम्मेदवार विजय केसीले बताए। टिकेप्रथा अन्त्य गरी लोकतान्त्रिक विधिबाट पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्ने उनको माग छ। 

निर्वाचनमा धाँधली हुने भन्दै उनीहरूले अधिवेशन सार्न निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाए। नाम मात्रको निर्वाचन गर्ने भन्दा स्वच्छ प्रतिस्पर्धाबाट प्रतिनिधि चयन गर्नुपर्ने उनीहरूले माग गरेका छन्। 

गच्छदारले भने क्षेत्रीय सभापतिमा संस्थापन इतर पक्षका मेहेदी हुसेनको नाममा सहमति गरेका छन्। हुसेनलाई सभापति बनाएर अधिकतम महाधिवेशन प्रतिनिधि उनले लिएका छन्।

निर्वाचन भए पराजित हुने अनुहारहरू सहमतिको लिस्टमा समावेश गरिएको छ। अघिल्ला अधिवेशनमा पराजित भएका र पार्टी सङ्गठनमा नलागेका पुराना नेताहरूलाई अटाउन उनले कोसिस गरेका छन्। त्यसैको विरुद्धमा ४७ जना उमेद्धवारले बिहीबार ज्ञापनपत्र नै बुझाएका हुन्।

लामो समयदेखि घरैमा कार्यकर्ता भेला पारेर सहमति गराउन खोजेका गच्छदार असफल हुँदै आएका थिए।

मंसिर ९, २०७८ बिहीबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।