एमाले महाधिवेशनबारे प्रमुख तीन दलको प्रतिक्रिया : हुनुपर्ने बहस भएन, कम्युनिस्ट पार्टी रहेन
माओवादीबाट आएका नव आगन्तुक एमाले र पार्टीमा फर्किएका आगन्तुक एमाले तथा ओलीको कमान्डमा रहेको जैविक एमालेको एकता हुने तथा धेरै आकाङ्क्षी नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने गन्जागोलबाट एमालेले नयाँ नेतृत्व पाउँदै छ।
आम निर्वाचन र त्यसपछिको सत्ता समीकरणलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले अन्य राजनीतिक दलहरूले पनि एमालेको महाधिवेशनलाई महत्वकासाथ हेरेका छन्। एमालेबाट फुटेको एकीकृत समाजवादीलाई एमाले कम्युनिस्ट पार्टी नबन्ने खतरा रहेको देख्छ।
सो पार्टीको प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘ उहाँहरूले नेकपा एमालेलाई कम्युनिस्ट पार्टी बनाउनुहुन्छ कि बनाउनुहुन्न यो महाधिवेशनबाट हामीलाई बडो चासो छ। बनाउनुहुन्न भन्ने हामीले बुझेका छौँ। यो महाधिवेशनबाट एमालेबाट विद्रोह गरेको पुष्टि हुँदै छ।’
एकीकृत समाजवादीले सावधानीपूर्वक एमालेको व्यवहार हेरिरहेको छ। एमालेले बोकेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई संविधानमा समावेश गरिसकेको समाजवादीको दाबी छ।
‘यो महाधिवेशनमा केही हुन्छ भन्ने आस छैन। विधान महाधिवेशन सकिसक्नुभयो। राजनीतिक प्रतिवेदनको लागि अजेण्डा नै छैन। विचार शून्य पार्टी कम्युनिस्ट आन्दोलनमा समावेश हुँदैन,’ प्रवक्ता खतिवडाले उकेरासँग भने।
काँग्रेसले भने अझै पनि नेतृत्वपंक्तिले गल्ती गरिरहेको देख्छ। सो पार्टीका नेता मीन विश्वकर्मा पार्टी विभाजित भइसकेपछि पनि सर्वसम्मत हुन नसक्नु र विभाजनका बेलमा विभाजनको पक्षमा आफ्नो पक्षमा अभिमत दिएर विभाजनतिर उभिएका नेताहरूलाई चित्त बुझाउन नसक्नु नेतृत्वको असक्षमता देखिएको बताए।
प्रक्रियागत हिसाबले सम्पन्न हुने महाधिवेशनले आन्तरिक गतिरोध र मतभेद अन्त्य नगर्ने उसको ठहर छ। दलहरूप्रति रहेको कमजोर जनविश्वासलाई मजबुत बनाउन सर्वसम्मत अथवा निष्पक्ष हिसाबले महाधिवेशन सम्पन्न हुनुपर्नेमा काँग्रेसको जोड छ ।
‘एमालेको महाधिवेशनपछि राजनीतिलाई प्रभावित पार्न सक्छ। पूर्व एमालेभित्रको विभाजित शक्तिलाई छाडेर बाँकी रहेको शक्ति अथवा ओली समर्थकको नेतृत्व एकछत्र आउँछ। त्यहाँभित्र पूर्व माओवादीहरूको गुनासोहरू कायमै रहन्छन्। आम चुनाव पछि दोस्रो ठुलो शक्ति एमाले नै हुन्छ। प्रमुख प्रतिपक्षीको रूपमा एमाले आउने देखिन्छ,’ विश्वकर्माले उकेरासँग भने।
समसामयिक र पार्टीको नीतिगत कुरामा मौन रहँदा त्यसले देशलाई नै प्रभावित पार्न सक्ने एमाओवादीको ठहर छ। ‘समाजवाद उन्मुख समाज भनिसकेपछि सो विषयमा छलफल चल्छ कि चल्दैन ? नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने कुरा अहिले छलफलका विषयहरू हुन्। वैचारिक विषयमा छलफल भएको छैन। महाधिवेशन भनेको देशलाई कता लैजाने भन्न विषयमा बहस हुन्छ। जबज सम्बन्धमा पनि छलफल भएको छैन,' माओवादी नेता गिरिराजमणि पोखरेलले भने' वैचारिक हिसाबले राष्ट्रले जे खोजिरहेको छ त्यस विषयमा बहस भएको छैन । नेतृत्वमामात्रै केन्द्रित भएको देखिन्छ। के कुरा लागू गर्न नेतृत्व भन्ने प्रश्न उब्जन्छ।’
नेकपा र एमाले फुटको कारण अध्यक्ष ओली भए पनि सो विषयमा पार्टी अहिलेसम्म मौन रहेको पोखरेलको भनाइ छ। नेकपाकै निरन्तरता एमाले रहेको कारणले एमालेमा रहेको भन्ने पूर्व माओवादी नेताहरूको भनाइमा पोखरेलको आपत्ति छ।
‘ती साथीहरू जो प्रतिगमनको मतियार बन्नुभयो, हामी राजीनामा दिएर आयौँ उहाँहरुले मन्त्री बन्नको लागि जस्तोसुकै हर्कत गर्नुभयो। हाम्रो पार्टी फटाइदियो सर्वोच्चले त्यसको विरुद्धमा पनि उहाँहरू बोल्नुभएन। त्यो लज्जास्पद कुरा हो,’ पोखरेलले उकेरासँग भने।
मंसिर ९, २०७८ बिहीबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।