कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदमा विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन्।  बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। 

उम्मेदवारी दिनेक्रममा एक विज्ञप्ति जारी गर्दै उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।' 

उनले कांग्रेसलाई लोकतान्त्रिक पार्टीको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुनर्स्थापित गर्ने, तीन वटै तहको आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउने, पार्टीमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने जस्ता उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन्।

पाँच दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय निधि कांग्रेसका संस्थापकमध्येका नेता महेन्द्रनारायण निधिका छोरा हुन्। उनी ०२७ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका थिए। उनी २०७५ सालमा नेपाली कांग्रेसको उपसभापति पदमा मनोनित भएका थिए।

मंसिर ९, २०७८ बिहीबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।