एमाले महाधिवेशन: महासचिवमा पौडेल र पोखरेलको चर्चा, पदाधिकारीमा आकांक्षी नै आकांक्षी

एमाले महाधिवेशन: महासचिवमा पौडेल र पोखरेलको चर्चा, पदाधिकारीमा आकांक्षी नै आकांक्षी

बुटवलः शुक्रबारबाट चितवनमा सुरु हुने नेकपा एमालेको १०औं महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारी सहित केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको संख्या बढिरहेको छ। पदाधिकारीमा स्वयं नेताहरूले दावी गर्न नसके पनि उनीहरूका कार्यकर्ताले भने सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन्। 

केन्द्रीय सदस्यका आकांक्षीहरूले भने आफैं नै आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट गरिरहेका छन्। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म लुम्बिनीबाट ५० बढी आकांक्षी देखिएका छन्।

यसअघि नवौं महाधिवेशनमा पनि हालको लुम्बिनी प्रदेशबाट धेरै शीर्ष नेताहरू पार्टीमा पदाधिकारी तथा केन्द्रीय समितिमा परेका थिए। १० औं महाधिवेशनमा पनि पदाधिकारीमा प्रदेशबाट कुनै न कुनै व्यक्ति आउने पक्का छ। 

अझ एमालेको महासचिव पदका लागि रुपन्देहीका विष्णु पौडेल र दाङका शंकर पोखरेलको यतिबेला सर्वत्र चर्चा भइरहेको छ।

१०औं महाधिवेशनमा चुनिने महासचिवलाई एमालेको आगामी अध्यक्षका रूपमा समेत व्याख्या गर्न थालिएको छ। उनीहरूका कार्यकर्ताले त्यहीअनुसार प्रचार प्रसार पनि गरिरहेका छन्। तर दुवै नेता भने चुपचाप छन्।

यसअघि निर्वाचित भएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य राधा ज्ञवाली, वैकल्पिक पोलिटब्यूरो दलबहादुर राना, केन्द्रीय सदस्य खिमलाल भट्टराई, सूर्य थापा, बैजनाथ चौधरी, नजिर मिया, लीला गिरी लगायतका नेताहरू पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आकांक्षी छन्। 

त्यसबाहेक माओवादी पृष्ठभूमिबाट आएका टोपबहादुर रायमाझी, दधिराम शर्मा न्यौपाने, चन्द्रबहादुर खड्का, मणि थापा, दिनेश पन्थी लगायका नेताहरूको पनि कमिटीभित्र रहने आकांक्षा छ। 

केही दिनअघिको एक टेलिभिजन अन्तर्वार्तामा नेता टोपबहादुर रायमाझीले 'आफूलाई पदाधिकारी नदिनुपर्ने कुनै कारण नरहेको' बताउँदै आकांक्षा प्रकट गरेका थिए।

अहिलेको अधिवेशनमा उपमहासचिव घनश्याम भुसाल उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पनि पदाधिकारीमा इच्छा देखाइरहेका छन्। 

केन्द्रीय सदस्यहरूमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, दाङका गंगा चौधरी, जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर खत्री, कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, प्रदेश सभा सदस्य विष्णु पन्थी केन्द्रीय सदस्यका आकांक्षी हुन्। 

पश्चिमनवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विमला अर्याल, प्युठानबाट प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रूपमा हेरिएको छ।

एमालेका नेता तथा लुम्बिनीका प्रचारप्रसार विभागका सञ्योजक झपेन्द्र जिसीले लुम्बिनी एमालेको गढ समेत भएकाले धेरै नेताहरूले पदाधिकारी तथा सदस्यमा जान आकांक्षा देखाउनु स्वाभाविक रहेको बताए। 

उनले एमाले नेतृत्व हाक्न यस प्रदेशका धेरै नेताहरू तयार रहेको बताए। ‘धेरैले आकांक्षा देखाएकाले मिलाउन गाह्रो पर्ला। निर्वाचन पनि हुन सक्छ। होइन भने पार्टीका लागि इच्छालाई केही समय थाति राख्नुपर्ने स्थिती पनि आउन सक्छ’, उनले भने।

एमाले महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताहरूले दाबी गरेका छन। 

लुम्बिनी प्रदेशबाट महाधिवेशन प्रतिनिधिका रुपमा २ सय ८ जना छनोट भएका छन्।
 

मंसिर ९, २०७८ बिहीबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।