रुकुमपश्चिमको कांग्रेस सभापतिमा फेरि वली नै सर्वसम्मत
सुर्खेतः नेपाली कांग्रेस रुकुमपश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश वली दोहोरिएका छन्। छैटौं जिल्ला अधिवेशनमा निर्वाचनमार्फत सभापति चुनिएका वली सातौं अधिवेशनबाट भने सहमतिमार्फत सभापति चुनिएका हुन्।
रुकुमपश्चिमका सबै नेता कार्यकर्ताले आफूलाई नै सभापति बन्न सहमति जनाएपछि फेरि दोहोरिएको सभापति वलीले बताए। कांग्रेसले मंसिर ६ गते अधिवेशनको उद्घाटन गर्ने निर्णय गरे पनि बुधबार सहमतिमै चयन भएको उनले बताए।
उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन्। सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्कालाई चयन गरिएको अध्यक्ष वलीले जानकारी दिए।
कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनयन गर्ने भएको छ। यस्तै क्षेत्रीय सभापतितर्फ ‘क’ निर्वाचन क्षेत्रमा महेन्द्र केसी र ‘ख’ निर्वाचन क्षेत्रमा भद्रबहादुर विष्टलाई सर्वसम्मत चयन गरिएको छ। उनका अनुसार महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सहमतिमार्फत नै चयन गर्नेगरी तयारी भएको छ।
मंसिर ९, २०७८ बिहीबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।