लुडोमा झैँ खस्ने डरले योगेशले पनि कक्षा दोहोर्याउने, सचिवमा उम्मेदवारी दिने घोषणा
चितवन : एमालेको दशौँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै सचिव योगेश भट्टराइले पनि 'एकै कक्षा' दोहोर्याउने भएका छन्।
ओलीले आफू अध्यक्षको उम्मेदवार नहुने भन्दै' एकै कक्षा नदोहोर्याउने' दाबी गरे पनि उनी अध्यक्षमै उम्मेदवारी दिँदैछन्। पार्टीमा रहेका विभिन्न समूहका नेताको व्यवस्थापनको समस्या देखेर सचिव रहेका भट्टराईले पनि पुन सचिवमै उम्मेदवारी दोहोर्याउने भएका छन्। प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै १० औँ महाधिवेशनमा सचिवमै दोहोरिने बताए।
उनले एकै पटक माथि चढ्दा लुडोमा झैँ खसिने र पार्टीको कार्यकारी भूमिकाका लागि अझै १५ वर्ष समय रहेको भन्दै उनले सचिवमै दोहोरिने बताएका हुन्।
‘लामो यात्रामा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपालि चौतारीमा बस्ने हो’, उनले भने ‘त्यसपछि फेरि अगाडि बढ्न मलाई अझै १५ वर्षको सुविधा छ।'
नेकपा एमालेको महाधिवेशन १० देखि १२ मङ्सिरसम्म चितवनमा आयोजना हुँदै छ।
मंसिर ८, २०७८ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।