एन्टिबायोटिक खाँदै फुलकोर्टको प्रतीक्षामा प्रधानन्यायाधीश
काठमाडौँ : सर्वोच्च अदालत प्रशासनले बिहीबार फुलकोर्ट बैठक बोलाउने तयारी गरेको छ।
गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्थासहितको राजपत्रमा प्रकाशित नियमावली पारित गर्न फुलकोर्ट बैठक बस्न लागेको हो।
सर्वोच्च प्रशासनले बुधबार नै बैठक बोलाउने तयारी गरे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेकाले भोलि बैठक बोलाउने तयारी गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
प्रधानन्यायाधीश राणा तीन चार दिनदेखि सन्चो नभएर सर्वोच्च अदालत आएका छैनन्। उनी एन्टीवायोटिक औषधी खाएर बालुवाटारमा आराम गरिरहेका राणा निकट स्रोतले बताएको छ।
‘उहाँ तीन चार दिनदेखि निवासमै आराम गरिरहनु भएको छ, मुद्दाको पेसी पनि निवासबाटै तोक्नु भएको छ,’राणा निकट स्रोतले उकेरालाई भन्यो,‘सर्वोच्च प्रशासनले आजै फुलकोर्ट बोलाए मात्रै जानुहुन्छ।’
सर्वोच्च प्रशासनले प्रशासनका केही कर्मचारीलाई पनि सन्चो नभएको बताएको छ। ‘केहीमा कोभिड देखिएकाले होम आइसोलेसनमा बस्नु भएको छ,’स्रोतले भन्यो,‘प्रधानन्यायाधीश राणाको सचिवालयका केही कर्मचारीलाई पनि सन्चो छैन।’
स्रोतका अनुसार आज बुधबारसम्म एन्टीवायोटिक खानु पर्ने भएकाले भोलिदेखि मात्रै प्रधानन्यायाधीश राणा कार्यालयमा जानेछन्।
फुलकोर्ट बसेर नियमावली पारित गरेको भोलिपल्ट देखि नै सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दाको पेसी तोकिने छ। असन्तुष्ट न्यायाधीशहरू नियमावली संशोधनपछि इजलासमा बस्न थालेका छन्। तर, बार एसोसिएसनले भने राजीनामा र सम्पत्ति छानबिनको माग गर्दै आन्दोलन गरिरहेको छ।
मंसिर ८, २०७८ बुधबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।