छोरालाई पक्राउ गर्ने विरुद्ध कानुनी लडाइँ लड्दै शाहरुख खान

छोरालाई पक्राउ गर्ने विरुद्ध कानुनी लडाइँ लड्दै शाहरुख खान

एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको परिवारले विगत केही दिनयता निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्योत। शाहरुखका छोरा आर्यन खान ड्रग्सको केसमा पक्राउ परे। उनले २६ दिनसम्म जेल बस्नुपर्यो।

आर्यन गत २८ अक्टोबरमा अदालतबाट जमानतमा छुटेका थिए। जेलबाट छुटेपछि पनि आर्यन प्रत्येक शुक्रबार अदालतमा हाजिर हुन गइरहेको समाचार आइरहेका थिए।

तर, अदालतले आर्यन यो मामिलामा निर्दोष रहेको फैसला सार्वजनिक गरेको छ। हालै अदालतले जारी गरेको फैसलाको कपीमा आर्यनविरुद्ध अदालतले कुनै प्रमाण फेला पार्न नसकेको उल्लेख छ। उनले ड्रग्स सेवन गर्नका लागि कसैलाई प्रोत्साहन गरेको प्रमाण फेला नपरेको उल्लेख छ।

अदालतबाट जारी फैसलामा उल्लेख छ, 'आर्यनको मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरोले कुनै प्रमाण नै फेला पार्न सकेन। आर्यन खानको वाट्सएप च्याटलाई मात्र ठोस सबुत मान्न सकिँदैन।'

अदालतको यस्तो फैसला सार्वजनिक भएपछि विनासबुत आफ्नो छोरालाई गिरफ्तार गरिएको भन्दै आर्यनका पिता शाहरुख खान कानुनी लडाइँको तयारीमा रहेको समाचार सार्वजनिक भएको छ।

शाहरुखको टिम आर्यनलाई गिरफ्तार गर्नुको कारणबारे नारकोटिक्स कन्ट्रोल ब्यूरोका शीर्ष पुलिस अधिकारीसँग पुछताछ गर्ने तयारीमा रहेको सामचारमा जनाइएको छ।

मंसिर ८, २०७८ बुधबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।