कांग्रेसको प्युठान जिल्ला अधिवेशनमा गोली चल्यो, एक जना प्रहरीसहित ७ जना घाइते
मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरीक्षक मुकुन्द आचार्यले जानकारी दिए।
मतगणनाको क्रममा रामचन्द्र पौडेल–कृष्ण सिटौला पक्षका विष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरूको समूहले आक्रमण गरेको थियो। झडपका क्रममा एक जना प्रहरी सहित कम्तीमा ७ जना घाइते भएका छन्।
प्रहरी जवान गोपाल जिसी घाइते भएका छन्। त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा चन्द्र बहादुर गाह, कृष्ण बसेल, कमल घर्ती, कुँवर पुन, विनोद रिजाल र खेमराज पण्डित रहेका छन्।
घाइतेहरूलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ। लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरीक्षक मुकुन्द आचार्यले मतगणना स्थलमा कसैले बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन ७ राउन्ड अश्रुग्याँस प्रयोग गरेको बताए।
देउवा र पौडेल–सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणना स्थलमा आक्रमण भएको हो। झन्डै दुई घण्टा अघि देखिको तनाव अझै साम्य भएको छैन।
आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल-सिटौला पक्षबाट विष्णु कुमार गिरी मैदानमा छन्।
मंसिर ७, २०७८ मंगलबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।