अमेरिकन म्युजिक अवार्डमा विश्वलाई चकित बनाए बिटिएसका केटाहरूले
काठमाडौँ : कोरियन म्युजिकल ब्यान्ड बिटीएसले अमेरिकन म्युजिक अवार्ड २०२१ को तीन विधामा अवार्ड जितेको छ।
बिटिएसले आइतबार भएको आर्टिष्ट अफ दि इयर, फेवरेट पप डुवो अर ग्रुप र फेवरेट पप सङ गरी तीन ओटा विधामा अवार्ड जितेको हो।
यो वर्ष अमेरिकन म्युजिक अवार्डमा मुख्य आकर्षणको बिन्दु नै बिटिएस बन्यो। कोरियन पप (के–पप) का ब्यान्ड सदस्यहरू जिन, सुगा, जे होप, आरएम, जिमिन, भी र जंककुकले कार्यक्रममा तीन अवार्ड मात्रै जितेनन्, विश्वको मन पनि जितेका छन्।
यतिसम्म कि, अमेरिकन म्युजिक अवार्डको सुरुवात र अन्त्य दुवै बिटिएसका प्रस्तुतिपछि मात्रै भयो। उनीहरूले कार्यक्रमको सुरुवातमा माइ युनिर्भस नामको गीत गाए भने अन्त्यमा फेवरेट पप सङको अवार्ड जितेको गीत बटर।
अवार्ड जितिसकेपछि समूहमा एकलौटी गतिलो अङ्ग्रेजी बोल्ने आरएमले माइक समाएर भने, ‘यो सबै मिराकल भइरहेको छ। साँच्चै हामीले अमेरिकन म्युजिक अवार्डमा तीन ओटा अवार्ड जित्नेबारे कहिल्यै सोचेका थिएनौँ।’
उनीहरूका अघि अमेरिकन चर्चित गायक गायिकाहरू छायामा परे। सबैको ध्यान बिटिएसका सदस्यहरूले तान्न सफल भए।
विश्वका सञ्चार माध्यमहरूले यतिखेर बिटिएसका प्रशंसामा शब्दहरू खर्च गरिरहेका छन्।
को हुन् बिटिएस
नेपालमा समेत लाखौँ फलोअर्स कमाउन सफल बिटिएस कोरियन पप सङ्गीतको ब्यान्ड हो। सन् २०१३ देखि सञ्चालनमा आएको बिटिएसको पूर्ण उच्चारण बाङतान सोन्योन्दान हो। यसमा उस्तै बान्की, उस्तै लवज, उही उमेर समूह र एकै छिमलका सात जना सदस्यहरू छन्।
सदस्यहरू सबै हेर्दा सुन्दर छन् भने सबैलाई गाउन र नाच्न आउँछ।
बिटिएसका सबैभन्दा पहिलो सदस्य तथा समूह नेता हुन् आरएम। उनको वास्तविक नाम किम रमजोङ हो। उनी समूह नेतासँगै समूहका मुख्य र्यापर तथा निर्माता हुन्।
बिटिएसका सबैभन्दा जेठा सदस्य भने जिन हुन्। उनको वास्तविक नाम किम सेयोकजिन हो। उनी नाटकका विद्यार्थी थिए, जो बसबाट घर आउने जाने गर्थे। आफूलाई वर्ल्डवाइड ह्यान्सम अर्थात् विश्वकै सुन्दर केटोको रूपमा परिचित गराउन रुचाउने जिन बिटिएसका निकै रमाइला पात्रमध्ये एक हुन्।
अर्का सदस्य सुगा उर्फ अगस्ट डिको वास्तविक नाम मिन योङगी हो। सुगालाई पनि सुरुवाती दिनमा पप आइडलका रूपमा उभ्याउन निकै सकस पर्यो। उनले निकै हिंसात्मक प्रतिक्रियाको सामना गर्नुपर्यो। उनी कोरियामा सबैभन्दा छिटो र्याप गाउन सक्ने फायर र्यापरका रूपमा समेत परिचित छन्। सुगा टोलीका सबैभन्दा धेरै सुतुवा र अल्छीमा गनिन्छन्।
जे होप अर्थात् जोङ होस्के भने र्यापरसँगै लिड डान्सर हुन्। बिटिएससँग जोडिनु अघि उनी स्ट्रिट डान्सर हुन् थिए जो फ्रिस्टाइल डान्सरका रूपमा परिचित थिए। १० वर्षको उमेरदेखि नाच्न सुरु गरेका जे होप बिटिएसमा कोरियोग्राफी र नृत्य सम्हाल्छन्।
बिटिएसका अर्का सदस्य हुन् जिमिन। उनको वास्तविक नाम पार्क जिमिन हो। उनी आर्ट्स स्कुलका टप (कन्टेम्पोररी डान्सर) समकालीन नृत्यकार थिए।
जिमिन स्टेजमा उत्कृष्ट पर्फमेन्स गर्ने कलाकारको रूपमा पनि चर्चित छन्। प्रायः स्टेज कार्यक्रममा उनले माथिका कपडा खोलेर दर्शकलाई सिक्स प्याक देखाइरहेका हुन्छन्।
नाच्दै कपडा फुकाल्ने उनको कलालाई दर्शकले निकै मन पराउँछन्। साथीहरूले उनलाई दर्शकको धेरै माया र ध्यान पाउन जे पनि गर्ने भनेर उडाउँछन्।
भी अर्थात् किम तेह्युङ्ग सन् २०२० को विश्वकै सुन्दर केटोको उपाधि पाउने बिटिएसका सदस्य हुन्। टिमका अन्य सदस्य भन्दा उनको नृत्य फरक हुने गर्छ। उनी स्लोमोसनको नृत्य गर्न रुचाउँछन्।
गायकको रूपमा पनि उनी उच्च स्केलको चर्को र आत्मादेखि गाउनेमा गनिन्छन्। भीले कोरियन ड्रामाहरूमा पनि अभिनय गरेका छन्। भीको एउटा अचम्मको बानी छ।
उनी यात्रा गर्दा आफूलाई मन पर्ने सेलिब्रेटीको नाम आफ्नो भन्दै हिँड्न रुचाउँछन्। उनलाई गुचीका लुगा जम्मा गर्न, फेसन ट्रेन्ड फलो गर्न र फोटो खिच्न मन पर्छ।
बिटिएसका सबैभन्दा कान्छो सदस्य हुन् जंगकुक। वास्तविक नाम जियोन जंगकक हो। उनी समूहका मुख्य भोकलिष्ट हुन् र बीचका डान्सर हुन्।
उनलाई सबैले सुनको फुल पार्ने कुखुरा पनि भनेर जिस्काउँछन्। किनभने उनी गीत लेख्न, गाउन, नाच्न र र्याप गाउनमा समेत सिपालु छन्। उनको रुचि भने भिडियो इडिटमा छ।
मंसिर ७, २०७८ मंगलबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।