नक्कली विवाह दर्ता गर्ने सशस्त्र प्रहरीले वडाअध्यक्षसँग यसरी मिलाएका थिए सेटिङ

नक्कली विवाह दर्ता गर्ने सशस्त्र प्रहरीले वडाअध्यक्षसँग यसरी मिलाएका थिए सेटिङ

सुर्खेतः गत असोज ७ गते अर्जुन चितौरे लेकवेशी नगरपालिका– ९ स्थित धावाको घरमा आए। उनकी श्रीमती मुना रोकाय वीरेन्द्रनगर–१२ मा माइत गएकी थिइन्। 

असोज ९ गते अर्जुन दिउँसो १२ बजे वीरेन्द्रनगर श्रीमतीको माइती गए र मुनालाई घर फर्किएर जाउँ भने। मुनाले आमाबुवा आफन्तको घरमा गएको भन्दै आएपछि साँझ जाउँला भनेर सम्झाइन्। अर्जुनले मुनालाई मरणासन्न हुनेगरी पिटे। 

मुनाकी आमा सरस्वती बर्तौलाले किन यसो गरेको भनेर सोध्दा उल्टै आफ्नी सासू सरस्वतीलाई हातपात गरे। सरस्वतीको हात भाँचियो। सबै माइती मिलेर 'बेइज्जत नगरौं' भन्दै मिलापत्र गराएर दुवै जनालाई घर पठाए।

एक दिन घरमा बसेर अर्जुन जागिरमा गइहाले। घरपरिवारसँग पनि अर्जुनले कुरा गरेका रहेछन्। अब अर्को विवाह गर्दै छु भनेर। अनि मुनाका सासू–ससुराले राम्रो केटो खोजेर विहे गर भन्दै फकाउन थाले। मुनाले यस्तो काम गर्न नसक्ने बताइन्। फेरि उनीहरूले अर्को जाल रच्न थाले। यदि अर्जुनले विहे गरेर ल्याए भने सौता–सौता मिलेर बस्नुपर्छ भन्न थाले।

अर्जुनले घरपरिवार र वडा नम्बर ९ का वडाअध्यक्ष मानबहादुर खडलुकसँग आफूले विहे गर्ने कुरा भनिसकेका रहेछन्। नाताले वडाध्यक्ष खडलुक अर्जुनको बहिनी ज्वाईं पर्छन्।

मुनाले घरपरिवारले भनेका यी सबै कुराको प्रतिकार गरिन्। तिहारको माहोल चलिरहेको थियो। कात्तिक १६ गते अर्जुन पल्टनबाट घर आए। १९ गते तिहार मनाउन भन्दै मुनालाई माइती पुर्याएर फर्किए। 

अहिले गाउँमा बुझ्दा अर्जुनले त्यतिबेला नै उदयपुरको बेलका नगरपालिका–७ की मनकुमारी आलेलाई आफूसँगै भगाएर ल्याएका रहेछन्। आफन्तको घरमा ल्याएर राखेका रहेछन्।

विवाह दर्ताका लागि अर्जुनले वडाअध्यक्षको म्यासेन्जरमा घर आउनु अगाडि नै पठाएको दुवै जनाको नागरिकता र जन्मदर्ताको स्क्रिनसट उकेरालाई प्राप्त भएको छ। यसबाट पनि अर्जुन र वडाअध्यक्षको सेटिङ धेरै पहिलेदेखि नै चलेको पुष्टि हुन्छ।


अर्जुनले वडाध्यक्षलाई पठाएको नागरिकताको स्क्रिनसट

वडाध्यक्षलाई पठाइएको जन्मदर्ता

कात्तिक २२ गते अर्जुन मनकुमारी र आफ्नो भाइकी सानी छोरीलाई लिएर वडा कार्यालयमा गए। उनले आफ्नो भाइको छोरी लैजानुको अर्थ अरू देख्नेहरूलाई उसको जन्मदर्ता गर्ने बहाना थियो। वडाअध्यक्ष खडलुक र वडासचिव पुष्पाकुमारी खनालसँग अर्जुनले सबै सेटिङ मिलाएको स्थानीय बताउँछन्।

‘हामीलाई त अर्जुनले विहे गरेको तीन वर्ष भएको र एक वर्षकी छोरी पनि छन् भन्ने थाहा थियो,’ एक स्थानीयले भने, ‘दुई जना बच्चा लिएर आएका थिए। गाईंगुईं सुनियो, भाइको छोरीको जन्मदर्ता बनाउन आएका रे भन्ने। महिला चाहिँ कोही नातेदार होलिन् भन्ने परियो। तर उनले त्यो दिन सबै कुराको चाँजोपाँजो मिलाएर विवाह दर्ता गरेका रहेछन्।'

ती प्रत्यक्षदर्शीका अनुसार त्यो दिन वडाअध्यक्ष र सचिव कार्यालयमा नै थिए। उनीहरूले अरू दिनभन्दा त्यो दिन अन्य सेवाग्राहीको काम फटाफट गरेका थिए।

भोलिपल्ट नै अर्जुन र उनकी कान्छी श्रीमती मनकुमारी नवलपरासी गइसकेका थिए। 

यो कुरा माइती पक्षलाई थाहा भएपछि उनीहरू लेकवेशीको वडा नम्बर ९ को कार्यालयमा गएर जुक्ति निकाले। मुनाका बुबाले सिधै वडासचिवसँग गएर ‘अस्ति मेरी छोरी र अर्जुन चितौरेले विहे दर्ता गरेर गएका हुन्?’ भनेर सोधेपछि उनले हो भनिन्।

मुनाका बुबाले विवाह दर्ता गरेको फाइलको फोटो खिचे। वडाअध्यक्ष भने 'मलाई थाहा छैन' भन्दै उम्किए। 'मुद्दा हाल्छौं' भनेपछि उनीहरू डराएर मुनालाई फकाउन थाले। वडाअध्यक्ष र अर्जुनका बुबाको रोहवरमैं नवलपरासीबाट उनीहरूलाई लेकवेशीसम्म ल्याइयो। 

माइती पक्षले कानूनअनुसार अगाडि बढ्ने भनेपछि आइतबार अर्जुन र मनकुमारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। माइती पक्षले जाहेरी समेत दिइसकेका छन्।
 
मुनाकी छोरीको जन्मदर्ता बनाउने बेला पनि अर्जुनकी श्रीमती अर्कै भएको व्यहोरा आएको छ भन्दै कार्यालयले बनाउन मानेन। धेरै संघर्षका बावजुद मुनाकी छोरीको जन्मदर्ता भयो।

पीडित मुनाले प्रहरी कार्यालयमा पेस गरेको जाहेरीपत्रमा आफ्ना श्रीमान् अर्जुन चितौरले आफूसँग १५ वर्षमै विहे गरेको र अहिले पनि उमेर नपुग्दा विवाह दर्ता समेत नभएको खण्डमा अर्कै केटीलाई विवाह गरी वडा कार्यालयमा विवाह दर्ता प्रमाणपत्र लिएकोले यसमा मिलेमतो गर्ने वडा नम्बर–९ का वडाअध्यक्ष मानबहादुर खडलुक, वडासचिव पुष्पाकुमारी खनाल र घरपरिवारलाई समेत कारबाही गर्नुपर्ने उल्लेख गरेकी छन्।

मुनालाई जसरी भए पनि मिल्नुपर्छ, सबै जिम्मेवारी आफूहरु लिन्छौं भन्दै धाउन उनकी आमा सरस्वती बर्तौलाले बताइन्।

‘अहिले जाहेरी दिइसकेपछि जसरी पनि मिल्नुपर्छ भन्दै हामीलाई दबाब दिन लागेका छन्,’ सरस्वतीले भनिन्, ‘वडाअध्यक्ष र सचिव फस्ने भएपछि हामी पैसा दिएर भए पनि केटाकेटीलाई मिलाउँछौं, तपाईंहरु मिलेपछि मुनाको सबै ग्यारेन्टी हामी लिन्छौं भनेर आश्वासन दिएका छन्।’

अर्जुनका बुबा, वडाअध्यक्ष र वडासचिवले मिल्नका लागि धेरै प्रयास गरे पनि कानूनअनुसार अगाडि बढ्ने अडानमा आफूहरू रहेको उनको भनाइ छ।

यसबारे उकेरामा प्रकाशित यसअघिका सामग्री

मंसिर ७, २०७८ मंगलबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।