माटोसँगै रमाउन थाले बाली विज्ञानका विद्यार्थी: विद्यालयमै कृषि पढ्दै, कृषि गर्दै

माटोसँगै रमाउन थाले बाली विज्ञानका विद्यार्थी: विद्यालयमै कृषि पढ्दै, कृषि गर्दै

सुर्खेतः बाली विज्ञान पढ्दै गरेका विद्यार्थीहरू किताबमा मात्रै नभएर माटोसँग पनि खुबै रमाउन थालेका छन्। उनीहरू विद्यालय समयमा विद्यालयकै बारीमा र अन्य समयमा घरको करेसाबारीमा रमाउने गरेका छन्।

सिम्ता गाउँपालिका—७ की एलिसा राना शिव माध्यामिक विद्यालयमा कक्षा—१२ मा बाली विज्ञान (आइएससीएजी) पढ्छिन्।

उनी ९ कक्षादेखि नै यही विद्यालयमा बाली विज्ञान पढ्दै आएकी छन्। उनी विद्यालयमा किताबको अध्ययनसँगै कृषि कर्म पनि गर्छिन्।

हरेक दिन कक्षा कोठामा शिक्षकले किताब पढाएपछि त्यसको प्रयोगात्मक सीप सिक्न उनी माटोसँग खेल्छिन्।

अन्य विषयमा रोजगारीको सम्भावना न्यून हुने तथा धेरै जनासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पनि कृषि उनको रोजाइमा पर्यो।  

त्यसमा पनि कृषि विषय लिएर पढे, सके सरकारी जागिर नसके आफ्नै कृषि फर्म गर्न सकिने एलिसाको भनाइ छ।

‘अन्य विषय लिएर पढेका धेरै मान्छेहरू बेरोजगार भएर बसेका छन्। तर कृषि विषय लिएर पढेकाहरूलाई दुवै हातमा लड्डु हुन्छ’, उनले भनिन्, ‘सके जागिर खाइन्छ। नसके कृषि फर्म खोलेर कृषि कर्ममा रमाइन्छ।’

यस्तै वीरेन्द्रनगर—९ का अर्जुन सञ्ज्यालले पनि कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै यो विषय पढेको बताए। उनका घरपरिवार पनि कृषि विषय पढेर छोरा कृषिमा आत्मनिर्भर बनोस् भन्ने सोच राख्छन्।

अर्जुन बिहान-बेलुका घरको करेसाबारीमा रमाउँछन् भने दिउँसो विद्यालयको बारीमा। उनको टीमले लगाएका बन्दा, च्याउ, काउली, टमाटर लगायतका फलफूल र तरकारीहरू लटरम्मै फलेका छन्।

‘नेपालमा कृषिको धेरै सम्भावना छ। हामीले यहाँ उत्पादन गर्न सक्ने सामग्री भारत लगायत छिमेकी देशबाट ल्याउनुपर्ने बाध्यता छ। त्यही कारण पनि मेरो परिवारले मलाई कृषिमा आत्मनिर्भर भएको देख्न चाहन्छ’, उनले भने, ‘सबै मान्छे जागिर र रोजगारी भन्दै बाहिर गएपछि कृषिको भविष्य के हुन्छ?’

रोजगारी र आफ्नै काम पनि सँगसँगै गर्न सकिने  भएकोले कृषि पढ्दा फाइदै फाइदा हुने उनको भनाइ छ।

सरकारले ९—१२ कक्षासम्मको लागि ल्याएको शिक्षा नीतिअनुसार प्राविधिकतर्फ शिव माध्यामिक विद्यालयले २०७१ सालबाट प्रत्येक वर्ष ४८ जना विद्यार्थीलाई कृषि अध्ययनमा भर्ना गराउँछ।

अन्य विद्यालयमा सीटीईभीटीअन्तर्गत यही विषय १८ महिना पढ्दा पैसा बढी लाग्ने भएका कारण पनि विद्यार्थीहरूको रोजाईमा यो विद्यालय परेको विद्यालयका शिक्षक नवराज घिमिरले बताए।

बाली विज्ञान पढ्नकै लागि यस विद्यालयमा हुम्ला, दैलेख, जाजरकोट, कालिकोट, बाँके र कैलालीबाट समेत विद्यार्थीहरू आउने गरेको विद्यालयको प्राविधिक शिक्षा कोअर्डिनेटर धीरेन्द्रमान थापाले बताए।

उनका अनुसार कक्षा १० र ११ मा तीन/तीन  महिना र कक्षा १२ मा ६ महिना ओजेटी गरेपछि बाली विज्ञान विषय सकिन्छ। यदी कक्षा ११ मा ओजेटी नगरे एक वर्षसम्म पढ्नुपर्ने हुन्छ।

पछिल्लो समय बाली विज्ञान पढ्नका लागि कोटाभन्दा पनि बढी विद्यार्थी आउन थालेको कोअर्डिनेटर थापाको भनाइ छ।

मंसिर ७, २०७८ मंगलबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।