काँग्रेसलाई सिन्धुपाल्चोक र काभ्रेमा गुन्डाकै भर : जुगल र भुम्लुको नेतृत्वमा गुन्डा नाइके
काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा भइरहेको तल्लो तहको नेतृत्वको निर्वाचनमा सिन्धुपाल्चोक र काभ्रेको २ गाउँपालिकाको नेतृत्वमा प्रहरीमा 'गुन्डा नाइके' को सूचीमा सूचीकृत सगुन श्रेष्ठ र दावा लामा आएका छन्।
यस अगाडि काभ्रेमा भएको निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्षमा दावा लामा सर्वसम्मत सभापति भएका थिए। सिन्धुपाल्चोकको जुगल गाउँ पालिकाको सभापतिमा अर्का गुन्डा नाइके सगुन श्रेष्ठ सभापति भएका छन्। उनी पनि सर्वसम्मत सभापति भएका हुन्।
दावा काठमाडौँको नयाँ बस्ती क्षेत्रमा बसेर जवर्जस्ती रकम असुली गर्ने लगायतका अपराधमा बारम्बार जोडिने गरेका आपराधिक पृष्ठभूमिका हुन्। उनलाई काभ्रेबाट काँग्रेसको राजनीति गरिरहेका गणेश लामाले साथ दिँदै आएका छन्। लामा विजयकुमार गच्छदारसँगै काँग्रेसमा आएर काभ्रेमा गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवार बनेर पराजित भएका थिए।
उनी पराजित भए पनि आफ्नो चेलालाई यो पाली पार्टीको पालिका अधिवेशनमा गाउँपालिकाको अध्यक्ष बनाउन सफल भएका छन्। उता सिन्धुपाल्चोक जुगलकै सगुनको अपराध क्षेत्र भक्तपुर थियो। भक्तपुरको अपराधमा ठुलो सगुन र सानो सगुन एक समय चर्चामा थिए। रक्त चन्दन तस्करी र लुटपाटहुँदै उनी सुन लुटपाट लगायतका आपराधिक घटनामा जोडिँदै आएका थिए।
२०६४ ताका माओवादी केन्द्र प्रवेश गरेका उनी अघिल्लो निर्वाचनबाट मोहन बस्नेतको सहयोगी हुँदै काँग्रेसको राजनीतिमा लागेका थिए। अघिल्लो निर्वाचनमा नेताहरूको सहयोगी बनेर हिँडेका उनी यो पाली काँग्रेसको १४ औँ महाधिवेशन पारेर पार्टीको पालिकाको नेता नै बनेका छन्।
एमालेमा पनि गुन्डा नाइकेहरूको राम्रै दबदबा रहे पनि नवौँ महाधिवेशनबाट १० औँ महाधिवेशनसम्म आइपुग्दा सङ्ख्या निकै घटेको छ। ९ औँ अधिवेशनकै मुखमा रमेश पौडेल पक्राउ परेका थिए। यही बिचमा दिनेश अधिकारी चरी मारिएपछि आपराधिक गतिविधिमा लागेकाहरूको भागाभाग भएको थियो।
बिचमा नेपाली काँग्रेस निकट कुमार श्रेष्ठ समेत मारिए। त्यसपछि बिस्तारै गुन्डा नाइकेहरू नेता र व्यापारी बन्न थाले। विराटनगरका पर्शुराम बस्नेत एमाले राजनीतिमा सक्रिय छन्।
काभ्रेको बलराम सापकोटा बले होटलको मालिक भइसकेका छन्। यो बिचमा गणेश लामा काभ्रेको काँग्रेस नेता बने। दीपक मनाङे प्रदेश सांसद भएर मन्त्री नै भइसकेका छन्। पार्टीतिर लाग्न नसनेका चक्रे मिलन निष्क्रिय भएर बसेका छन्। राजु गोर्खाली पनि कुनै दलमा सक्रिय देखिएका छैनन्।
मंसिर ६, २०७८ सोमबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।