कांग्रेस अधिवेशन : विवादका कारण रुपन्देही ३ को निर्वाचनमा बिलम्व, ५ मा निर्विरोध

कांग्रेस अधिवेशन : विवादका कारण रुपन्देही ३ को निर्वाचनमा बिलम्व, ५ मा निर्विरोध

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेदवार तथा प्रतिनिधिहरुले मंगलबार मात्रै मतदान गर्ने अडान लिएका छन् भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडान राखेका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारहरुले आज नै मतदान प्रक्रिया अघि बढाउन ढिला हुने र बीचमा विवाद आउने भन्दै प्रक्रिया स्थगित गरी मंगलबार मात्रै निर्वाचन गराउन माग गरेका छन्।

कांग्रेसको महाधिवेशन अन्तर्गत नै प्रदेशको निर्वाचनमा आइतबार राति भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरुको माग रहेको छ।

आइतबार राति मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए। सोही घटना दोहोरीले डरका कारण दिनको समयमा मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने पौडेल पक्षको माग रहेको छ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुष्पा थरुनीको प्यानलले उम्मेदवारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ।

रुपन्देही ५ मा निर्विरोध
रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन भने निर्विरोध भएको छ।सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका हुन्।

सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए।

त्यस्तैगरी रुपन्देहीको क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएको छ। ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीका अरु ३ क्षेत्रमा भने मतदानको काम अगाडि बढेको छ।

मंसिर ६, २०७८ सोमबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।